हिमालयन रि–इन्स्योरेन्सले पायो प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति

0
Shares

हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बुधबारको बोर्ड बैठकले बुधबार कम्पनीलाई १०० रुपैयाँ फेस भ्यालुमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक सेयर निष्काशनका लागि अनुमति दिएकाे हो ।

कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि भदौ २६ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीको २०७९ चैत २७ गतेको साधारण सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ भने अधिकृत पुँजी २१ अर्ब छ । जारी पुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीले सोही जारी पुँजीको ३० प्रतिशत बराबरले हुने ३ अर्ब बराबर अर्थात ३ करोड कित्ता आईपीओ प्रिमियम मूल्यमा जारी गर्न लागेको हो । प्रिमियम मूल्यमा बिक्री गर्ने आईपीओ सेयरबाट कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको थियो ।

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ । यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।