माथिल्लो मैलुङको आईपीओ बाँडफाँड, कतिले पाए ?

0
Shares

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) कात्तिक ३ गते शुक्रबार बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको आईपीओ बाँडफाँडमा १ लाख २८ हजार ४२० जनाले गोलाप्रथाबाट सेयर प्राप्त गरेका छन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष योजनालाई सेयर छुट्टाएर बाँकी रहेको सेयर १२ लाख ८४ हजार २०० कित्ता सेयर असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीको सेयर खरिदका लागि सर्वसाधारणबाट १०.०७ गुणा बढी माग परेको हो ।

उक्त सेयर खरिदका लागि कुल ११ लाख ९० हजार २९६ वटा आवेदन मार्फत १ करोड २९ लाख ३१ हजार २८० कित्ता सेयरको माग परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६४२ जनाबाट परेको १ करोड २८ लाख ६६ हजार ६० कित्ताको माग योग्य सदर भई बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो । मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत गरिएको सेयर बाँडफाँडमा १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका हुन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ४ हजार ६५४ वटा आवेदन मार्फत माग भएको ६५ हजार २२० कित्ताको माग रितपुर्वक नपरेका कारण रद्द गरिएको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको २५ प्रतिशतले हुन आउने कुल २५ लाख कित्ता सार्वजनिक निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका बासिन्दाका लागि ९ लाख ९० हजार ८०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता र सामुहिक लगानी कोष योजनाका लागि ७५ हजार कित्ता सेयर बाँडफाँड गरेको हो । यस्तै सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।