तपाईंको लगानी भएको कम्पनीले कति दिँदैछ लाभांश ?

0
Shares

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ६ वटा वाणिज्य बैङ्क, दुई विकास बैंक, ५ वटा लघुवित्त कम्पनी, एउटा जलविद्युत, एक होटल र १९ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् ।

आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गर्नुपर्ने प्रावधान छ । जसमा कम्पनीहरूले आफूले कमाएको मुनाफा अनुसार लाभांश प्रदान गर्ने घोषणा गर्छन् ।

सेयर बजारमा वर्चस्व राख्ने वाणिज्य बैङ्कको लाभांशमा अझ बढी लगानीकर्ताको चासो बढी हुने गरेको छ । यसकारण बढी लाभांश दिने बैङ्कको सेयर मूल्य बढ्न थाल्छ । जसले बजार प्रभावित गराउन सक्छ । विगतका वर्षहरूलाई हेर्ने हो भने कम्पनीहरूले अन्तिम समयमा मात्रै लाभांश घोषणा गर्ने र साधारण सभा गर्ने गरेका छन् । समयमै साधारण सभा नगर्दा लगानीकर्ताहरू हैरानी हुनुपरेको अवस्था पनि छ । तपाईंको सेयर भएको कम्पनीले तपाईंलाई कति दिँदैछ लाभांश जान्नका लागि अन्तिम सम्म पढ्नुहोस् ।

नेप्सेमा सूचीकृत कुन कुन कम्पनीले कति दिँदैछन् लाभांश ?

२० वाणिज्य बैङ्कमा ६ वटाको मात्रै लाभांश घोषणा

लाभांश घोषणा गरेका ६ वटा वाणिज्य बैङ्कमा एनआईसी एसिया बैङ्कले सबैभन्दा बढी लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको छ । यसले ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले २९ प्रतिशत बोनस र १.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

यस्तै एभरेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद सहित कुल २०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । लाभांश घोषणा गरेका बैंकहरुको सूचीमा सानिमा बैंक, माछापुच्छ्रे बैैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंक छन् ।

सानिमा बैंकले ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तै माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश घोषणा गरेको छ, जसअन्तर्गत १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद रहेको छ । सिटिजन्स बैंक र सिद्धार्थ बैंकले क्रमश ५.७९ प्रतिशत र ४.२१ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

दुई विकास बैंकको मात्र लाभांश प्रस्ताव

हालसम्म १७ विकास बैंकहरुमध्ये दुई बैंकहरुले मात्रै लाभांश घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले १० प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद सहित कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद सहित ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

५ लघुवित्तको यस्तो छ लाभांशदर

सेयर बजारमा लघुवित्त कम्पनीहरूको सेयर मूल्य तुलनात्मक रूपमा अन्यभन्दा राम्रो हुन्छ । कम चुक्तापुँजी भएको लघुवित्त कम्पनीकै सेयर मूल्य किन महँगो हुन्छ भन्ने प्रश्न पनि बेलाबेलामा उठ्ने गरेको छ । लाभांश घोषणा गरेका पाँच लघुवित्त कम्पनीमा सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश दिँदैछ । युनिक नेपालले २० प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । जसअन्तर्गत कम्पनीले प्रतिसेयर १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यस्तै नेस्डो समृद्धि लघुवित्त वित्त, एनआइसी एसिया लघुवित्त, स्वाभलम्बन लघुवित्त र आरएसडीसीले पनि गतवर्षको नाफाबाट कति लाभांश दिने भन्ने सार्वजनिक गरिसकेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार हाल ५७ वटा लघुवित्त कम्पनी छन् । तर नेप्सेमा सूचीकृत भएका ५ लघुवित्तले मात्रै मात्र लाभांश घोषणा गरेका हन् ।

नेस्डोले १७.५३ प्रतिशत र एनआइसी एसिया लघुवित्तले १५ प्रतिशत नगद लाभांश वितरण गरेका छन् । यस्तै स्वाभलम्बन र आरएसडीसीले क्रमशः १३.०१ र ९.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

अन्य कुन कम्पनीले कति दिए लाभांश ?

जलविद्युत कम्पनीमा भने एउटाले मात्र लाभांश घोषणा गरेको छ । सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद सहित कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उत्पादनमूलक कम्पनीमा एउटा कम्पनीले लाभांश दिने घोषण गरिसकेको छ । सेयर बजारमा महँगो सेयर मूल्य भएको युनिलिभरल प्रतिकित्ता १५८० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ ।
होटलहरुमा ओरियन्टल होटलले ५. २६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

अधिकांश सामूहिक लगानी कोषको लाभांश घोषणा

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अधिकांश सामूहिक लगानी कोषले लाभांश घोषणा गरिसकेका छन् । १९ वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।