सोनापुर मिनरल्सको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

 

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्रिमियम मूल्यको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को आज आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री सुरु हुँदैछ ।

नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार खुल्ने व्यवस्था भएपनि दसैंविदाका कारण आइतबार मात्र कम्पनीको सेयर कारोबार हुने भएको हो । दसैंका कारण ९ दिन सेयर बजार बन्द थियो । नेप्सेमा कम्पनीको सेयर एसओएनएसंकेतमा कारोबारमा आउनेछ । कम्पनीको सेयर कार्तिक १ गते बुधबार नै सम्बन्धीत सेयरधनीको हितग्राही खाता (डिम्याट) मा जम्मा भैसकेको थियो ।

सोनापुरको धितोपत्र कारोबारका लागि कम्पनीले न्यूनतम १४२ रुपैयाँ १ पैसादेखि अधिकतम ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज तोकेको छ । दिनदेखि नेप्सेमा कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थलाई आधार मानेर त्यसको तीन गुणासम्मको ओपनिङ्ग रेञ्ज दिने गरेको छ । सोही अनुसार कम्पनीको सेयर पनि तोकिएको रेञ्जभित्र कारोबार हुल्नेछ ।

कम्पनीले कार्तिक २ गते बिहीबार आईपीओ र संस्थापक सेयर सहित प्रतिकित्ता अंकित मूल्य एक सय रुपैयाँ दरका ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार कम्पनीको सेयर सूचीकृत भएको थियो ।

कम्पनीको सर्वसाधारण लगानीकर्तामा चुक्ता पुँजीको ४० प्रतिशतका दरले हुन आउने १ करोड २३ लाख २०० कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको चुक्ता पुँजीको ६० प्रतिशतले हुन आउने १ करोड ८४ लाख ५० हजार ३०० कित्ता सेयर गरी कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो । कम्पनीका सेयरधनीले एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाटबाट आरटीएस सेवा प्राप्त गर्नेछन् ।

बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार असोज २४ गते बुधबार भएको सेयर बाँडफाँडमा ९९.१७ प्रतिशत आवेदनले सेयर हात पारेका थिए । सोनापुरको आईपीओ ८ जनाले ११ कित्ताका दरले र १० लाख ३२ हजार १२४ जनाले १० कित्ता हात परेका थिएन् । सदर भई सेयर बाँडफाँडमा सहभागि ८ हजार ६३८ जनाले भने सेयर पाउन सकेका थिएनन् ।

कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये १० लाख ४० हजार ७७० जनाले आवेदन दिएकोमा १० लाख ३२ हजार १३२ जनाले सेयर हात पारेका हुन् । सदर आवेदकमध्ये ८ हजार ६३८ जनाको हात मात्र खाली भएको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको सेयर बाँडफाँडमा सबै आवेदकलाइ सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट गरिएको हो । जसमा १० लाख ३२ हजार १३२ जना आवेदकलाई १० कित्ताका दरले १ करोड ३ लाख २१ हजार ३२० कित्ता बाँडफाँड गरिएको हो । यसरी बाँडफाँड गरि बाँकी रहेको ८ कित्ता सेयर पुनः गोलाप्रथाबाट सेयर पाउनेमध्येबाट ८ जनालाई १—१ कित्ताका दरले बाँडफाँड गरिएको थियो । सर्वसाधारणमा ९७ लाख ३२ हजार ५४४ कित्ता खरिदका लागि आह्वान गरिएकोमा कर्मचारीले ५ लाख ८८ हजार ७८४ कित्ता सेयर खरिद नगरेपछि सर्वसाधारणमा थपेर बाँडफाँड गर्दा धेरै आवेदकले सेयर हात पारेका थिए ।

कम्पनीले असोज १४ देखि १८ गतेसम्म सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसा दरमा सेयर बिक्री खुला गरेको थियो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले प्रिमियम मूल्यमा सेयर बिक्री गरे वापत १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ संकलन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।