दसैं विदापछिको पहिलो दिनमै नेप्सेमा उच्च गिरावट, सोनापुरको सेयरमा नकारात्मक सर्किट

0
Shares

नेपालीहरुको महान चाड बडा दसैंको ९ दिन विदापछि आइतबार खुला भएको सेयर बजारमा पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अंकको गिरावट आएको छ ।

नेप्सेका अनुसार आज बजार सूचक नेप्से २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा झरेको हो ।कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे भएको बजारमा ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१६ अंकले घटेर ३६१.९४ बिन्दुमा अडिएको छ । आजको बजारमा २८३ कम्पनीका २७ लाख १२ हजार १२३ कित्ता सेयर ३४ हजार ९० वटा संङ्ख्यामा खरिद बिक्री भएका छन्। आइतबार कारोबार रकम ७४ करोड २९ लाख २५ हजार ३९३ रुपैयाँमा समेटिएको छ ।

कारोबारमा आएका १३ उपसमुहगत परिसूचकमध्ये ब्यापार सर्वाधिक २.६८ प्रतिशत र होटल तथा पर्यटनमुलक २.६३ प्रतिशतले घटेको छ । यसैगरी बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधनमुलक र निर्जीवन बीमाको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

पहिलो दिन कारोबार खुलेको सोनापुर सिमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर प्रतिकित्ता ३१५ रुपैयाँमा झरेको छ । अंकति मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेर घटेको हो । आज कम्पनीको ६ हजार ४५९ कित्ता सेयर २० लाख ४८ हजार ९१५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर ८.९९ प्रतिशतले बढेको छ भने सीवाइसी लघुवित्तको ६.६० प्रतिशत, घलेम्दी हाइड्राको ५.७१ प्रतिशत र बीपीडब्लु लघुवित्तको सेयरमूल्य ५.६२ प्रतिशतले बढेको छ । यस्तै सयपत्री हाइड्रोको ३.६७ प्रतिशत तथा साम्लिङ पावर कम्पनीको ३.६७ प्रतिशत, हिमालयन हाइड्रोपावरको २.७८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको २.३० प्रतिशत, आरएसडिसी लघुवित्तको २.१६ प्रतिशत र ८.५ प्रतिशत सानिमा डिबेन्चरको सेयरमूल्य १.९९ प्रतिशतले बढेको छ ।

तथापि कारोबारमा आएको पहिलो दिनमा नै सोनापुर मिनिरल्समा नकरात्मक सर्किट लाग्दा सेयर मूल्य ३५ रुपैयाँले घटेको छ । यस्तै नेशनल हाइड्रो पावरको मूल्य ७.९२ प्रतिशतले घटेको छ । आज पाँच कम्पनीहरुको सेयरमूल्य ५ प्रतिशतले घटेको छ । जसअन्तर्गत एनआइबीएल प्रगति फन्डको सेयरमूल्य ५.५७ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्ड ५.५३ प्रतिशत, इङ्वा हाइड्रोपावर ५.३३ प्रतिशत, सीइडिबी हाइड्रोपावर ५.२५ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्यमा ५.१४ प्रतिशतको गिरावट आएको छ । साथै रिभर फल्सको सेयरमूल्य ४.९८ प्रतिशत, माया खोला हाइड्रोपावरको ४.९५ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको ४.७६ प्रतिशतले सेयरमूल्य घटेको छ ।

यसैगरी आइतबार कारोबार रकम र सेयर सङ्ख्या दुवैका आधारमा नेशनल हाइड्रोपावर अगाडि छ । कम्पनीको ३ लाख १७ हजार ४८० कित्ता सेयर ४ करोड ८ लाख ५६ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । दोस्रो ठूलो कारोबार भएको हाथवे इन्भेष्टमेन्ट २ करोड ४७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको २ करोड ३० लाख,नबिल बैंकको सेयर २ करोड १७ लाख र घोराही सिमेन्टको १ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार सङ्ख्याका आधारमा दोस्रोमा लक्ष्मी इक्युटी फन्डको ८३ हजार ५०८, हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको ८१ हजार २२७, घलेम्दी हाइड्रोपावरको ७० हजार ९३२ सेयर र हिमाल दोलखा हाइड्रोपावरको ६७ हजार ७०४ कित्ता सेयर खरिद बिक्री भएको छ ।

आइतबारको गिरावटपछि कुल बजार पुँजीकरण २८ खर्ब ७९ अर्ब ६३ करोड ६१ लख रुपैयाँमा समेटिएको छ । आइतबार मात्रै बजार पुँजीकरण ४२ अर्ब ९ करोड रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।