योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।

नेप्सेले बुक विल्डिङ विधि मार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नवीकरण शुल्क बुझाउन भनेको हो ।

नेप्सेले नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि दर्ता शुल्क १० हजार रुपैयाँ र यसअघि दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुका लागि नवीकरणवापत ५ हजार रुपैयाँ तोकेको छ । संस्थागत लगानीकर्ताहरुले ग्लोबल आइएमई बैंक कमलादीमा रहेको नेप्सेको बैंक खातामा तोकिएको शुल्क बुझाउन सक्ने जनाइएको छ ।

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरीद आशय मूल्य प्राप्त गर्नुपर्ने व्यवस्था छ । जहाँ खरीद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्कासन गर्नुपर्ने हुन्छ ।

हाल सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपिओ निष्कासन गर्ने तयारीमा छन् । सर्वोत्तम सिमेन्टले त योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती समेत पाइसकेको छ । रिलायन्स स्पिनिङ मिल्स भने प्रकृयामा नै रहेको बुझिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।