नियामकीय चेपुवाले सेयर बजारमा दैनिक ५० करोड हाराहारीमा खुम्चियो कारोबार

0
Shares

सेयर बजारप्रतिको सरकारको सधैँको शंकालु दृष्टि, नियामक निकाय नेपाल धितोपत्र बोर्डले दिएको प्राथमिक सार्वजनिक निष्कासन र हकप्रदको अधिक निष्कासन अनुमति तथा नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा कायमै राखेको सीमा कारण नेपालको सेयर बजारमा दैनिक कारोबार रकम ५० करोड हाराहारीमा झरेको छ ।

विसं २०७८ साउन ३१ गते आइतबार दैनिक कारोबार रकम २१ अर्ब ६४ करोड ७६ लाख रूपैयाँ नाघेको नेपालको सेयर बजारमा अधिकतम बिन्दुबाट १३३४ अंक अर्थात ४१ प्रतिशतले बजार सूचक घटिसकेको छ । यसबीचमा सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति १५ खर्ब ९६ अर्ब ५२ करोड रुपैयाँ (३५.७३%) ले घटेको छ । यसबीचमा थपिएका सार्वजनिक निष्कासन समेत जोड्दा सेयर बजारबाट लगानीकर्ताले आधा बढी रकम गुमाइसकेका छन् । २०७८ भदौ २ गते बुधबार नेपालको इतिहासमा नै सेयर बजारको कुल बजार पुँजीकरण सर्वाधिक ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख रुपैयाँ बराबर थियो । कार्तिक १४ गते मंगलबार आइपुग्दा बजार पुँजीरकरण २८ खर्ब ७१ अर्ब ९८ करोड रुपैयाँ बराबर रहेको छ ।

सेयर बजारमा खस्एिको लगानीकर्ताको मनोबल उकास्ने कुनैपनि उपायहरु अबलम्बन नहुँदा सेयर बजारमा कारोबार रकम करिब ६ महीना अघिको अवस्थामा पुगेको हो । मंगलबार ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँमा समेटिएको छ । यो कारोबार रकम २०८० बैशाख २८ गतेको भन्दा थोरै हो । उक्त दिन ५७ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

दसैंपछिको तीन कारोबार दिनमा आइतबार र मंगलबार उच्च गिरावट आउँदा सोमबार समान्य मात्र नेप्से बढेको छ । आइतबार २८.१८ अंकले घटेको नेप्से सोमबार ३.०४ अंकले बढेपनि मंगलबार पुनः १४.२९ अंकले ओरालो लागेको हो । मंगलबारको बजारमा २८६ कम्पनीका २२ लाख ५८ हजार १८७ कित्ता सेयर २५ हजार ६२५ वटा संङ्ख्यामा खरिद बिक्री भएका छन् । अघिल्लो दिन सोमबार ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको कारोबार भएकोमा मंगलबार १२ करोड २८ लाखले घटेर ५७ करोड १४ लाखमा समेटिएको हो ।

कारोबारमा आएका १३ वटै उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । जीवन बीमाको इन्डेक्स सर्वाधिक १.४६ प्रतिशतले घटेको बजारमा विकास बैंक ०.८५ प्रतिशत, लघुवित्त ०.८४ प्रतिशत, फाइनान्स ०.७९ प्रतिशत, जलविद्युत ०.७८ प्रतिशत र बैंकिङ्ग ०.७४ प्रतिशतले घटेको छ ।

प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको सोनापुर सिमेन्टको सेयर मूल्यमा लगातार तेस्रो कारोबार दिन नकारात्मक सर्किट लागेर प्रतिकित्ता २५५ रुपैयाँ २० पैसामा झरेको छ । अंकित मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको सेयर मूल्य लगातार तेस्रो दिन नकारात्मक सर्किट लागेर घ्दा सेयर जारी गरेको मूल्यभन्दा १८ रुपैयाँ मात्र माथि छ । आज दिनभरमा कम्पनीको २५ हजार १०९ कित्ता सेयर ६४ लाख ११ हजार ४४३ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्ला दुई दिनमा १८ हजार १६ कित्ता सेयर ५३ लाख २८ हजार २१६ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यसैगरी मंगलबारको बजारमा एनआईबिएल ग्रोथ फन्डको सेयरमूल्य ५.७१ प्रतिशतले घटेको हो । यस्तै मेरो माइक्रोफाइनान्सको ४.४३ प्रतिशत, बिपिडब्लू लघुवित्तको ४.३६ प्रतिशत र मेन्छियम हाइड्रोपावरको सेयरमूल्य ४.२८ प्रतिशतले घटेको हो ।

मंगलबार कारोबारमा आएका कम्पनीहरुमा सर्वाधिक महुली लघुवित्तको सेयर मूल्यमा सर्वाधिक बढोत्तरी भएको छ । लघुवित्तको सेयर मूल्य आज ६.०५ प्रतिशतले बढेर ७७१ रुपैयाँ पुगेको हो । यसैगरी आजको बजारमा अन्य तीन वटा कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ । एभरेष्ट बैंकको नन्कन्भर्टिबल डिबेञ्चरको मूलय ३.९० प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३.४५ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको ३.४२ प्रतिशतले बढेको हो । यस्तै किसान लघुवित्तको सेयरमूल्यमा २.७९ प्रतिशतको वृद्धि देखिएको छ ।

कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । इन्स्योरेन्स कम्पनीको १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै स्ट्याण्र्डड चार्टड बैंकको १ करोड ६५ लाख, नबिल बैंकको १ करोड ४८ लाख, सिद्धार्थ बैंकको संस्थापक सेयर १ करोड ४५ लाख र हिमाल दोलखा हाइड्रोपावरको १ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

आज प्रभु स्मार्ट फन्ड इकाई सर्वाधिक १ लाख १७ हजार ३०० कित्ता कारोबार भएको छ । दोस्रो स्थानमा हिमाल दोलखा हाइड्रोपावरको १ लाख १० हजार ८२० कित्ता, सिद्धार्थ बैंकको संस्थापक सेयरको १ लाख कित्ता, नबिल इक्युटी फन्डको ९९ हजार ६१९ कित्ता र नेशनल हाइड्रोपावरको ७८ हजार ३८२ कित्ता सेयर कारोबार भएको हो । कारोबार भएका कम्पनीहरुमध्ये कारोबार सङ्ख्याका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स अगाडि छ । कम्पनीको आज २ हजार २३६ वटा कारोबार भएको छ ।

मंगलबारको गिरावटपछि कुल बजार पुँजीकरण २२ अर्ब २ करोड ७५ लाखले घटेर २८ खर्ब ७१ अर्ब ९८ करोड ७९ रुपैयाँमा समेटिएको छ । सोमबार कुल बजार पुँजीकरण २८ खर्ब ९४ अर्ब १ करोड ५४ रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।