बुधबार पनि ओरालो लाग्यो सेयर बजार, दैनिक कारोबार रकम भने बढ्यो

0
Shares

साताको चौथो कारोबारदिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार सूचक ५.८३ अंकले घटेर १८५८.५६ बिन्दुमा झरेको हो ।

बुधबारको बजारमा २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ७७ हजार ८७० वटा संङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार ५७ करोड १४ लाख ८३ हजारको कारोबार भएकोमा २४ करोड ६ लाख रुपैयाँले दैनिक कारोबार रकम वृद्धि भएको हो । मंगलबार बजार सूचक नेप्से १४.२९ अंकले घटेको थियो ।

कारोबारमा आएका १३ वटा उपसमुहगत सूचकमध्ये ब्यापार बाहेक १२ वटै ऋणात्मक बनेका छन् । ब्यापार ०.०८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटनमुलक सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ ।

प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको सोनापुर सिमेन्टको सेयर मूल्यमा लगातार चौथो कारोबार दिन समेत करिब नकारात्मक सर्किट लेबलमा घट्दा आईपीओभन्दा तल अर्थात् २३४ रुपैयाँ ८० पैसामा झरेको छ । कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ प्रिमियम सहित २३७ मा सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । आज दिनभरमा कम्पनीको ६ लाख १६ हजार ७७५ कित्ता सेयर ५० हजार ८०१ पटकमा १४ करोड ६० लाख २ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्ला तीन कारोबार दिनमा सोनापुरको ४३ हजार १२५ कित्ता सेयर १ करोड १७ लाख ३९ हजार ६५९ रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो । कम्पनीको नेप्सेमा कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर सुचीकृत छ ।

यसैगरी बुधबारको बजारमा सिद्धार्थ इक्वीटी फन्डको इकाईमूल्य पनि ७.७५ प्रतिशतले घटेको छ । साथै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को ६.१४ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तको ५.५२ प्रतिशत र श्वेतगंगा हाइड्रोपावरको ४.०४ प्रतिशतले घटेको छ । कारोबारमा आएका कम्पनीहरुमा सयपत्री हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ । हाइड्रोपावरको सेयर ९.३९ प्रतिशतले बढेर ५५८ रुपैयाँमा पुगेको छ । यस्तै हिमालयन लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशत, रावा इनर्जीको ७.५७ प्रतिशत, मेगा म्युचुअल फन्ड–१ को ५.०४ र घलेम्दी हाइड्रोपावरको ३.७१ प्रतिशतल सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्टपछि दोस्रो ठूलो कारोबार भएको आशा लघुवित्तको संस्थापक सेयर ७ करोड ३ लाख, हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड ४८ लाख र हिमालयन डिष्टिलरीको १ करोड २९लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

बुधबारको गिरावटपछि कुल बजार पुँजीकरण ८ अर्ब ९९ करोड रुपैयाँले घटेर २८ खर्ब ६२ अर्ब ९९ करोड ३२ लाख रुपैयाँमा समेटिएको छ । मंगलबारको बजार पुँजीकरण २८ खर्ब ७१ अर्ब ९८ करोड ७९ रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।