ग्लोबल आइएमई लघुवित्तको नाफा २७ प्रतिशत बढ्यो

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २७.१५ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६७ लाख ४६ हजार नाफा कमाएकोमा थियो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै अघिल्लो आवको पहिलो तीन महीनको तुलनामा चालू आवको सोही अवधिमा ७२ लाख ६१ हजारले नाफा बढेको हो ।

नाफासँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी पनि बढेर २१ रुपैयाँ ९८ पैसा पुगेको छ । गत आवको पहिलो त्रैमासमा लघुवित्त कम्पनीको प्रति सेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा थियो ।

लघुवित्त कम्पनीको चुक्ता पुँजी १२ प्रतिशत बढेर ६१ करोड ८९ लाख कायम छ भने जगेडा कोषमा ५० करोड ४३ लाख ९९ हजार रुपैयाँ सञ्चिति छ । जुन गत असारको तुलनामा ८ प्रतिशत कम हो । असोज मसान्तसम्म लघुवित्त कम्पनीले ३ अर्ब २३ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १३.८५ प्रतिशत बढेर १५ करोड ५७ लाख ५८ हजार रुपैयाँ र सञ्चालन नाफा २६.७४ प्रतिशत वृद्धि भएर ४करोड ८६ लाख २ हजार कायम भएको छ ।

त्यस्तै वित्तीय विवरण कम्पनीको प्रति सेयर नेटवर्थ १८१ रुपेयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात ३९.७६ गुणा छ । खराब कर्जा अनुपात २.७३ बाट ४.७६ प्रतिशतमा पुगेको लघुवित्तको नोक्सानी व्यवस्था रकम पनि २२ प्रतिशत अनुसार बढेर ४ करोड ६९ लाख ४५ हजार पुगेको छ । लघुवित्तको कष्ट अफ फन्ड ९.२७ बाट घटेर ८.४९ प्रतिशतमा सुधारिएको छ भने आधारदर १३.५९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।