तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’मा


व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन् । उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय सुरु गरिन् ।

करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न भएकी छिन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा ‘ड्रागन फ्रुट’को खेती सुरु गरेकी हुन् । प्रकृति र माटोसँग रमाउन र यही क्षेत्रलाई साधान केन्द्रको रुपमा स्थापित गराउन आफू यस व्यवसायतर्फ लागेको किसान गौलीको भनाइ छ । वार्षिक २० हजार रुपैयाँ बुझाउने गरी करिब नौ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर व्यवसाय थालेकी हुन् ।

विसं २०७९ वैशाख १८ गते ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सञ्चालन गरेकी गौलीले पहिलो वर्षमा १२ लाख रुपैयाँ भन्दा बढीको ड्रागन फ्रुट बिक्री गरिसकेकी थिइन् । वैशाखमा फूल खेल्न सुरु भएको ड्रागन फ्रुट ६० दिनभित्र खाना योग्य हुन्छ भने मङ्सिर महिनासम्म फल्ने उनको भनाइ छ ।

‘अहिले त व्यवसायीहरु फार्ममै आएर लैजानुहुन्छ, पहिले गाडीमा बजारसम्म लैजानु पर्ने अवस्था थियो’, उनले भने । उनले प्रतिकिलो पाँच सयदेखि छ सय रुपैयाँसम्म ड्रागन फ्रुट बिक्री गर्दै आएका छन् ।

गौलीले गत वर्ष भारतको हैदराबादबाट दुई हजार एक सय वटा ड्रागन फ्रुटका बिरुवा ल्याएर फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएकी थिइन् । ‘करिब ८० लाखमध्ये ४२ लाख ५० हजार रुपैयाँ ड्रागन फ्रुटको खेतीमा लगानी गरेको छु’, उनले भनिन्, ‘फार्ममा ड्रागन फ्रुटका साथै च्याउ, मौरी, फलफूललगायतका बहुआयामिक किसिमले खेती गरेको छु ।’

गौलीले यस वर्ष तीन लाख रुपैयाँ भन्दा बढीको ड्रागनका बिरुवा बिक्री गरेकी छिन् । प्रतिबिरुवा दुई सयदेखि पाँच सय रुपैयाँसम्म बिरुवा बिक्री गरेको उनले बताइन् । ड्रागनका बिरुवा लिन तनहुँलगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेको उनको भनाइ छ ।

किसान गौलीले व्यास नगरपालिका–३ मा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छिन् । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गर्ने गरेको उनले बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।