बैंकहरुको खराब कर्जा ३ गुणाले बढेपछि वितरण योग्य नाफा ६१ प्रतिशतले घट्यो


वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तरमा ह्रास आउने क्रमले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । बैंकहरुको सम्पत्तिको स्तर कमजोर बन्दै गएपछि खुदा नाफा र लाभाशं वितरण क्षमतामा समेत प्रत्यक्ष असर पुगेको देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा १८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/२०८० को पहिलो त्रैमासको तुलनामा चालु आवमा बैंकहरुको वितरणयोग्य नाफा ६१ प्रतिशतले घटेको छ । यता बैंकहरुको औषत खराब कर्जा गत आवको सोही अवधिको तुलनामा करिब तेब्बरले बढेको छ । त्यति मात्र नभई बैंकहरुको खराब कर्जा गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासमा करिब एक प्रतिशत विन्दुले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको औषत खराब कर्जा ३.३९५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा औषत खराब कर्जा १.६७ प्रतिशत थियो । गत आवको सोही त्रैमासको तुलनामा मात्र नभई गत आवको औषत खराब कर्जाभन्दा चालु आवको पहिलो त्रैमासको धेरै छ । गत असारसम्ममा बैंकहरुको औषत खराब कर्जा २.९८ प्रतिशत थियो ।

बैंकहरुको खराब कर्जा बढेसँगै नोक्सानी व्यवस्था बढ्दा नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले १३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.७ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैंकहरुको खुद नाफा १६ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

बैंकहरुको नाफा घटेपछि सेयरधनीलाई लाभाशं वितरण गर्न सक्ने क्षमता पनि कमजोर भएको छ । बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरण योग्य नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशतले थारै हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुको वितरण योग्य नाफा ४४ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

अर्थतन्त्रमा आएको सुस्तताले बैंकहरुको तथ्याङक झनै कजोर बनाउदै लगेको स्पष्ट हुन्छ । अर्थतन्त्रमा देखिएको समस्या आम सर्वसाधारणको जीवनमा पुगैसँगै त्यसको असर बैंकहरुमा देखिएको हो । सर्वसाधारणको आम्दानी प्रभावित भएपछि बैंकहरुको ऋण तिर्न सक्ने अवस्था रहेन । त्यसले गर्दा बैंकहरुको कर्जाको डिफल्ट रेट बढ्न थाल्यो । कर्जाको डिफल्ट बढेसँगै कर्जा नोक्सानी समेत बढाउन प्रयो । त्यसले गर्दा नाफामा असर ग्रयो । नाफा प्रभावित भएसँगै बैंकहरुको वितरण योग्य नाफा घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकको खराब कर्जा कुल कर्जाको ५.३३ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकले तोकेको सीमाभन्दा माथि खराब कर्जा बढेसँगै कृषि विकास बैंकले व्यवसाय विस्तार, शाखा विस्तार तथा विदेशमा शाखा खोल्न पाउँदैन । त्यसका साथै बैंकमा संस्थागत निक्षेपकर्ताले पनि निक्षेप राख्ने छैनन् । संस्थागत लगानीकर्ताको निक्षेप नआउँदा बैंकको प्रतिस्पर्धात्मक क्षमतामा समेत कमी आउने छ । चालु आवको पहिलो त्रैमासमा बैंक ८८ करोड ८० लाख रुपैयाँ खुद नोक्सानीको अवस्थामा छ ।

चालु आवको पहिलो त्रैमासमा ६ वटा बैंकहरुको वितरण योग्य नाफा ऋणात्मक छ । अघिल्लो आवको पहिलो त्रैमासमा सबै बैंकहरुको वितरण योग्य नाफा धनात्मक थियो । चालु आवको पहिलो त्रैमासमा कुमारी बैंकको वितरण योग्य नाफा सबैभन्दा धेरै २ अर्ब १६ करोड रुपैयाँले नोक्सानीमा रहेको छ ।

त्यसैगरी गत आवको असोजको तुलनामा चालु आवको सोही अवधिमा सम्पूर्ण बैंकहरुको खराब कर्जा बढेको छ । गत असारको तुलनामा ४ प्रतिशत भन्दा माथि रहेको प्राइम कमर्सियल बैंक र प्रभु बैंकले खराब कर्जाको अंश समान्य घटाएका छन् । त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड र नेपाल बैंकले पनि खराब कर्जा घटाएका छन् । गत असारको तुलनामा ४ प्रतिशत भन्दा माथि खराब कर्जा हुने बैंकहरुको संख्या समेत बढेको छ । चालु आवको असोज महिनामा ग्लोबल आइएमई बैंक पनि ४.३८ प्रतिशत खराब कर्जा सहित ४ प्रतिशत भन्दा माथिको सूचीमा परेको छ ।

बैंकहरुको चालु आवको पहिलो त्रैमासको तथ्याङकले बैंकहरुको अवस्थामा मात्र देखाएको छैन, बैंकहरुमा देखिएको प्रभावमा अर्थतन्त्रको वास्तविक अवस्था पनि देखाएको छ । साथै बढ्दो क्रममा रहेको खराब कर्जाले अगामी दिनमा पनि बैंकहरुको तथ्याङक अझै प्रभावित हुने देखाएको छ । बैंकहरुको तथ्याङक प्रभावित हुने वित्तिकै त्यसको प्रत्यक्ष असर सेयर बजारमा पनि पर्ने निश्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।