अर्थतन्त्र चलायमान बनाउन निर्माणाधीन आयोजना छिटोभन्दा छिटो टुंग्याउनुपर्छः गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर निर्माणाधीन आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले एउटै आयोजना निर्माणमा तोकिएको समयभन्दा ढिला हुँदा आर्थिक वृद्धिमा समेत असर पर्ने भन्दै सरकारले विकास आयोजनाहरु तोकिएकै समयभित्र सम्पन्न गरी नयाँ आयोजनको निर्माण थालनी गर्नुपर्ने बताएका हुन् ।

“बैंकिङ्ग प्रणालीमा बजारको मागअनुसार तरलता छ । पछिल्लो त्रैमासिकको वित्तीय विवरणअनुसार बैंकहरुको निष्क्रिय कर्जा बढेको देखिन्छ तर अन्य देशको तुलनामा कम नै हो । आपूर्ति प्रणाली र बजारमूल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको हो ।” बैंकिङ क्षेत्रका बारे उनले भने, “बैंकहरुको लगानी विविध क्षेत्रमा भएकाले कुनै एक क्षेत्रमा अप्ठेरो पर्दा बैंकमा संकट आउने अवस्था छैन ।”

राष्ट्र बैंकले लिएको मर्जर तथा एक्वीजिशनका कारण बैंकहरुको थज सबल बनेको उनलको भनाई थियो । गर्भनर अधिकारीले अधिकारीले पर्यटन क्षेत्र र रेमिट्यान्स क्षेत्रमा सकारात्मक ऊर्जा देखिएको बताए । उनले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेकाले त्यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने धारणा राखे । नेपालको बाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने भन्दै उनले भने, “१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन ।” गभर्नर अधिकारीले मौद्रिक नीतिले मात्र बजारलाई नियमन गर्न नसकेकाले महँगी नियन्त्रणमा समस्या रहेको दाबी गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको त्रासबाट आर्थिक र मौद्रिक नीतिमा कडाई गरिएकाले अर्थतन्त्रमा समस्या आएको बताए । उनले अहिलेको समस्या समाधान गर्न सामान्य नीतिगत सुधारले नहुने भन्दै बृहत् सोचका साथ परिवर्तन आवश्यक रहेको बताए । उनले बजारलाई चलायमान बनाउन विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले धेरै पर्यटक भित्रिएका छन् । बैंकमा तरलता पनि बढ्दो छ,’ ढकालले भने, ‘सरकारले व्यवसायी र सर्वसाधारणमा विश्वासको वातावरण बनाउन सहयोग पु¥याउनु पर्छ ।’ ढकालले कर्णालीमा गएको भुकम्प प्रभावितलाई आफूहरुले पनि राहत वितरण गर्ने बताए । उनले सक्दो राहत वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सञ्चार माध्यम तथा पत्रकारलाई राजनीतिक भन्दा आर्थिक विषयलाई प्राथमिकता दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बाह्य क्षेत्रमा अर्थतन्त्र सकारात्मक देखिए पनि आन्तरिक रुपमा चलायमान हुन नसकेको बताए । मल्लले बजेटमा रहेको प्राकृतिक स्रोत निर्यातको विषय उल्लेख भएपनि कानुनी अप्ठेरो रहेको बताए । उनले छिटो कानुन बनाई जडिबुटीदेखि प्राकृतिक सामाग्री निर्यात बढाएर व्यापार घाटा कम गर्नपर्ने बताए ।

समारोहलाई सम्बोधन गर्दै नाफिजका अध्यक्ष मोदनाथ ढकालले सरकारको योजना सोहीअनुसार कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । “आर्थिक समृद्धिको बाटोमा देखिएका समस्यामा बहस गराउन नाफिजले नेतृत्वदायी भुमिका खेल्नेछ,” ढकालले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।