बैंकहरुको प्रतिसेयर आम्दानी औसत ८ रुपैयाँले घट्यो, कृषि विकास बैंकको २८ रुपैयाँ ऋणात्मक

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसत ८ रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आवको असोज मसान्तसम्म २० वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी औसतमा ८ रुपैयाँ २ पैसाले घटेको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकको प्रतिसेयर आम्दानी (इपीएस) घटेको छ भने समीक्षा अवधिमा ६ वाणिज्य बैंकको मात्र इपीएस बढेकोे छ । समीक्षा अवधिकोे तुलनामा बैंकहरुको नाफा वृद्धि नभएपछि इपीएस घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा १८ प्रतिशतले घटेको छ । बैंकहरुको खराब कर्जा बढेसंगै नोक्सानी व्यवस्था बढेपछि नाफा घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले १३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.७ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैंकहरुको खुद नाफा १६ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म स्ट्याण्डर्ड चार्टड बैंकको इपीएस सबैभन्दा धेरै रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ११ पैसा छ । इपीएस उच्च हुनेमा दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकको २९ रुपैयाँ १९ पैसा छ । तर यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ११ रुपैयाँ ६१ पैसाले बढेको छ ।

गत आवको असोज मसान्तको तुलनामा चालु आवको असोज मसान्तसम्ममा ६ वाणिज्य बैंकको मात्र प्रतिसेयर आम्दानी बढेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६ रुपैयाँ २३ पैसाबाट १७ रुपैयाँ ८४ पैसा पुगेको छ । यस्तै प्राइम बैंकको १८ रुपैयाँ ७४ पैसाबाट बढेर २३ रुपैयाँ ७४ पैसा पुगेको छ । हिमालयन बैंकको १६ रुपैयाँ ४२ पैसाबाट १९ रुपैयाँ ५१ पैसा पुगेको छ । यसैगरी एनएमबी बैंकको इपीएस १ रुपैयाँ २९ पैसा, माछापुच्छ्रेको १ रुपैयाँ ७ पैसा र स्ट्याण्डर्ड चार्टड बैंकले ६९ पैसाले प्रतिसेयर आम्दानी बढेको छ ।

बैंकहरुले गर्ने खुद नाफा रकमलाई सम्बन्धीत बैंकको कुल चुक्ता भएको सेयर संख्याले भाग गरेर वार्षिक प्रतिसेयर आम्दानीको गणना गरिन्छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको ३ महिना अवधिमा १४ वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) गत आर्थिक वर्षको यसै अवधिको तुलनामा घटेको छ ।

 Bank   EPS  Ashwin End 2080  EPS Ashwin End 2079  Change (RS)
Nepal Investment 17.84 6.23 11.61
 Prime  23.74 18.74 5.00
Himalayan  19.51 16.42 3.09
NMB 20.98 19.69 1.29
 Machhapuchchre  18.66 17.59 1.07
 Standard Chartered  35.11 34.42 0.69
 Citizens  11.34 14.12 -2.78
 Sanima  15.21 18.99 -3.78
 Prabhu  17.57 22.19 -4.62
Nabil 21.31 27.01 -5.70
 Global IME  13.71 20 -6.29
Nepal SBI 18.94 25.54 -6.60
 Everest  29.19 36.58 -7.39
 Nepal Bank  3.88 16.77 -12.89
Rastriya Banijya Bank 21.99 35.77 -13.78
 Siddhartha  1.19 15.61 -14.42
Laxmi 1.9 17.43 -15.53
 Kumari  4.03 27.23 -23.20
NIC Asia 26.58 59.62 -33.04
 Agriculture Dev  -28.83 4.23 -33.06
Average 14.6925 22.709 -8.02

समीक्षा अवधिमा कृषि विकास बैंकको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) सबैभन्दा धेरै ३३ रुपैयाँ ६ पैसाले घटेर २८ रुपैयाँ ८३ पैसा ऋणात्मक भएको छ । यस्तै एनआईसी एशिया बैंकको ३३ रुपैयाँ ४ पैसाले घटेको छ । कुमारी बैंकको २३ रुपैयाँ २० पैसा, लक्ष्मी बैंकको १५ रुपैयाँ ५३ पैसा, सिद्धार्थको १४ रुपैयाँ ४३ पैसा, राष्ट्रिय वाणिज्य बैंकको १३ रुपैयाँ ७८ पैसा र नेपाल बैंकको १२ रुपैयाँ ८९ पैसाले घटेको छ ।

यसैगरी एभरेष्टको बैंकको ७ रुपैयाँ ३९ पैसा, नेपाल एबिआईको ६ रुपैयाँ ६० पैसा, ग्लोबल आइएमईको ६ रुपैयाँ २९ पैसा, नबिलको ५ रुपैयाँ ७० पैसा, प्रभुको ४ रुपैयाँ ६२ पैसा, सानिमाको ३ रुपैयाँ ७८ पैसा र सिटिजन्स बैंकको २ रुपैयाँ ७८ पैसाले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।