उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदनको ओइरो, ४८ गुणा सेयर माग

0
Shares

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ४८.११ गुणा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार एफपीओमा ७ लाख ६३ हजार ९८७ वटा आवेदन मार्फत ८५ लाख ८४ हजार ८७० कित्ता सेयरको खरिद माग परेको हो । कम्पनीले मंगलबारदेखि निष्काशन भएको एफपीओमा कात्तिक २४ गते शुक्रबार कार्यालय समयभित्र आवेदन दिन पाइनेछ ।

लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता सेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई असोज २६ गते शुक्रबार एफपीओ बिक्री गर्न अनुमति दिएको थियो ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६८ लाख ६५ हजार ७३६ रुपैयाँ ३२ पैसा पुग्नेछ।

हाल लघुवित्तको कारोबार गर्ने मुख्य स्थान सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ भैरहवा, रुपन्देहीमा रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको २८ जिल्लामा ८२ शाखा कार्यालयहरु रहेका छन्। कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नुका साथै जारी पुँजी बढाउन एफपीओ जारी गरेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।