पब्लिकमा परिणत भएसँगै राष्ट्रिय बीमा संस्थान बन्यो ‘राष्ट्रिय जीवन बीमा कम्पनी ’

0
Shares

साबिकको राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । पब्लिकमा परिणत भएसँगै कम्पनीको नाम ‘राष्ट्रिय जीवन बीमा कम्पनी’ कायम भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा कात्तिक २० गते उक्त नाममा दर्ता भएको हो ।

यसअघि कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुनका लागि स्वीकृति प्रदान गरेको थियो । हाल कायम चुक्ता पुँजीको आधारमा पब्लिक कम्पनीमा जान मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएसँगै संस्थानले प्रक्रिया अघि बढाएको थियो ।

पब्लिक लिमिटेड कम्पनीमा परिणत भएसँगै बसेको पहिलो बैठकले संस्थानको नायब महाप्रबन्धकको जिम्मेवारीमा रहेका महेश रिमाललाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिइएको छ । संस्थानको प्रशासकका कविराज पाठक भने आउट भएका छन् ।

पुँजी वृद्धिको दबाब

हाल ‘राष्ट्रिय जीवन बीमा कम्पनी’ को चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ र अधिकृत पुँजी ५० करोड रुपैयाँ छ । संस्थानबाट कम्पनीमा हुँदा संस्थानले हाल कायम र संरचना कायम राखी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो ।

कम्पनीलाई बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन अनुरुप ५ अर्ब चुक्ता पुँजी कायम गर्नुपर्ने दबाब छ । यसअघि संस्थानको आफ्नै ऐनका कारण पुँजी वृद्धिमा ठाडो हस्तक्षेप गर्न नसकेको प्राधिकरणले अब भने पूँजी वृद्धिको दबाब दिनेछ ।

कम्पनीलाई नियामकले तोकेको पुँजी कायम गर्न ४ अर्ब ८१ करोड ९० लाख पुँजी थप गर्नुपर्ने हुन्छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गत असारसम्ममा जीवन बीमाका लागि ५ अर्ब र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो ।

राष्ट्रिय जीवन बीमा कम्पनीले संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ र सर्वसाधारणमा आईपीओ जारी गरी १ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने योजना अघि सारेको छ । यद्यपी सर्वसाधारणमा आईपीओ जारी गर्न कम्पनीलाई केही समय लाग्ने देखिन्छ । सेवा निवृत्त कर्मचारीहरूले समेत आईपीओ पाउनुपर्ने दाबी गरेपछि आईपीओ निष्कासनका लागि समेत अड्चन देखिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।