पाकिस्तानले आर्थिक सामाजिक चुनौती सामना गर्न प्रयास गर्छ: राष्ट्रपति आरिफ


पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले राष्ट्रिय अर्थतन्त्रलाई असर पार्ने दीर्घकालीन समस्याको सम्बोधन गर्न सबै सरोकारको सामूहिक प्रयासलाई सरकारले जोड दिइरहेको बताएका छन्‌ ।

बुधबार एक समारोहमा उनले भने, ‘एउटा मुलुकको हैसियतमा हामीले आर्थिक र सामाजिक क्षेत्रमा आफ्ना प्राथमिकताहरू निर्धारण गर्नुपर्छ र आफ्नो देशलाई सुदृढ बनाउनुपर्छ ।’

उनले सरकारले विदेशी लगानी आकर्षित गर्न र त्यसमा तीव्रता ल्याउन तथा मुलुकमा सहज व्यापारलाई अगाडि बढाएर अर्थतन्त्रलाई स्थिर गर्नका लागि विभिन्न कदम चालेको र त्यसमा केही पहल सुरु भएको बताए ।

राष्ट्रपति अल्वीले अवैध तस्करीविरुद्धको पछिल्लो कारवाहीले स्थानीय उद्योगमाथि सकारात्मक प्रभाव परेको उल्लेख गर्दै करको दायरालाई अझ बढाउने र करको दायराभन्दा बाहिर रहेका व्यक्ति तथा व्यवसायलाई दायराभित्र ल्याउने प्रयास भइरहेको बताए।

आर्थिक विकासलाई अगाडि बढाउने प्रयासमा सरकारलाई सहयोग गर्न उद्योगपति र व्यापारीसहित पाकिस्तानको निजी क्षेत्रको भूमिका रहेको उनको भनाइ थियो ।

स्कुल जाने बालबालिकाको सङ्ख्या उल्लेख गर्दै उनले पाकिस्तानको सुखद भविष्यका लागि पहुँच वृद्धि गर्दै बालबालिकालाई उचित शिक्षा र सीप प्रदान गर्ने नीतिको आवश्यकतामाथि जोड दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।