विदेशी बैंकरलाई जलविद्युत, स्वच्छ उर्जा र यातायातमा लगानी गर्न गर्भनरको सुझाव

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी बैंकरलाई नेपालमा लगानी गर्न मध्यस्तकर्ताको भुमिका निर्वाह गर्न भनेका छन् ।

बिहीबारदेखि सुरु भएको एशियन बैंकर सम्मेलनमा गर्भनर अधिकारीले धनाढ्य र विदेशी भूमिमा लगानी गर्न इच्छुक मानिसहरुलाई नेपालमा लगानी गर्ने बाटो बनाइदिन भनेका हुन् ।

एशियाली बैंकरहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्दै गभर्नर अधिकारीले नेपाल सरकारका विभिन्न विकास साझेदारहरुप्रति आभार व्यक्त गरेका छन् । विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ), अन्तराष्ट्रिय वित्त निगम (आइएफसी), एशियाली विकास बैंक लगायतका विकास साझेदारहरुलाई उनले धन्यवाद समेत दिए ।

गर्भनर अधिकारीले पुँजी बजार तथा बीमा बजारको विकासका लागि सहयोग गर्ने विभिन्न साझेदारहरुले राष्ट्र बैंकसँग आबद्ध भएर देशको आर्थिक विकास सम्बन्धी नीति निर्माणमा सहयोग गरेको तथ्य केलाए ।

नेपालको विगत १० वर्षको आर्थिक वृद्धि दरको समीक्षा गर्दै सन् २०१५ मा गएको भूकम्पले नेपाललाई ठूलो असर पु¥याएता पनि सरकारले ८ प्रतिशत सम्मको वृद्धि दर हासिल गर्न सफल भएको स्मरण गराए । सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण नेपालको वृद्धि दर ४ प्रतिशतमा खुम्चिएता पनि आर्थिक रिकर्भरीको सम्भावना प्रचुर रहेको बताएका छन् ।

आगामी दिनमा नेपालले उच्च वृद्धि दर हासिल गर्नका लागि विदेशी साझेदारहरुको आवश्यकता रहेको बताउँदै उनले भने,“नेपालको जलविद्युत, पर्यटन, कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्ने अवसरको सदुपयोग गर्नुहोस ।” एसिया क्षेत्रका २५ देशहरुबाट ७० भन्दा धेरै बैंकरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा उनले आफ्ना समकक्षी तथा उपस्थित बैंकरहरुसँग लगानी गर्ने बाटो बनाइदिन अनुरोध समेत गरे ।

अर्थमन्त्री प्रकाश सरण महत समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उनले नेपालको अर्थतन्त्र सुधारका लागि संरचनात्मक सुधारको आवश्यकता रहेको पुष्टि गरेका छन् । हाल नेपालको अर्थतन्त्र विप्रेषणमा आधारित रहेको तथ्य व्यक्त गर्दै उनले यथाशीग्र विप्रेषण आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा परिणत गर्नुपर्ने उनको भनाइ छ । नेपालमा जलविद्युत तथा स्वच्छ उर्जा विकासको सम्भावना अत्यधिक रहेको छ ।

नेपाल सरकारले आगामी एक दशक भित्रमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त उर्जा विकासका लागि ४ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताउदै गभर्नरले भने,“बैंकरहरुलाई सम्भावित लगानीकर्तासँग भेटवार्ता गराउन र जलविद्युतको क्षेत्रमा लगानी गर्ने उयुक्र अवसर छ ।”

वर्तमान परिदृश्यमा भारतले वर्षेनी नेपालबाट विद्युत खरिद गरिरहेको छ । बाङ्लादेशले पनि विद्युत खरिदमा इच्छा व्यक्त गरेको छ । यदि नेपालले जलविद्युत उत्पादन गर्न सकेमा त्यसले अन्तराष्ट्रिय बजारमा माग बढाउने र नेपाललाई समृद्ध बनाउन सक्ने उनको धारणा छ ।

जलविद्युत, पर्यटन, कृषि र आइटी क्षेत्रबाहेक नेपालको यातायात क्षेत्रमा पनि लगानीको ठूलो सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा हाल ४० लाख मानिसहरु बसोबास गर्छन् । यहाँ बसोबास गर्ने मानिसहरुका लागि आवश्यक पर्ने सामाग्री हेटौँडा, नारायणगढ हुँदै काठमाडौँ ल्याइन्छ । फास्ट ट्रयाक निर्माण हुन सकेमा सामाग्री द्रुत गतिमा उपभोक्ता माझ पुग्ने र त्यसले उत्पादकत्व वृद्धि गर्ने उनको विश्वास छ । हाल २५० किलोमिटरको दूरी पार गरी ल्याइएको सामग्री फास्ट ट्रयाक निर्माण भएको खन्डमा ५२ किलोमिटर मै उपत्यका आइपुग्ने छ ।

यसका अलावा नेपालमा लगानी गर्ने क्षेत्रहरु धेरै भएको र कतिपय क्षेत्रको अन्वेषण समेत नभएको जनाउँदै गर्भनर अधिकारीले उपस्थित बैंकरहरुलाई नेपालमा लगानी गर्न, लगानीका नयाँ सूत्रको विकास गर्न अनुरोध गरेका छन् ।

साथै उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनका लागि अनुकूल वातावरण निर्माणका लागि सक्रिय रुपमा काम गरिरहेको बताएका छन् । अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई लगानीको सुरक्षा प्रत्याभूति दिलाउने उद्देश्यका साथ सरकार र राष्ट्र बैंक प्रतिबद्ध भई काम गरिरहेको जानकारी गराएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।