हिमालयन डिष्टिलरीको नाफा ५१ प्रतिशत धेरैले घट्यो

0
Shares

हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफा ५१.२४ प्रतिशतले घटेको छ । मदिरा उत्पादक कम्पनीको बिक्री आम्दानी घटेसँगै त्यसको सोझो असर खुद नाफामा परेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १० करोड ५१ लाख ९९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा मदिराजन्य सामाग्रीको बिक्री २९.७० प्रतिशत घटेर ९७ करोड १८ लाख १५ हजार रुपैयाँमा संकुचित बनेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

यस्तै पहिलो त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ४८.५५ प्रतिशत घटेर १५ करोड ६२ लाख ८१ हजार रुपैयाँमा झरेको छ । गत आवको असोजसम्म कम्पनीको सञ्चालन मुनाफा ३० करोड ३७ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

नाफामा आएको उच्च गिरावटका कारण कम्पनीको प्रति सेयर आम्दानी समीक्षा अवधिमा ३९ रूपैयाँ ५२ पैसा घटेर वार्षिक १७ रुपैयाँ ३२ पैसा झरेको छ । गत आवको पहिलो त्रैमासमा वार्षिक ५६ रुपैयाँ ८४ पैसा थियो ।

असोज मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात १०७.२२ गुणा छ ।

कम्पनीले गोल्डेन ओक, ब्ल्याक ओक लगायत मदिरा उत्पादन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाका कारण बैंकले प्रवाह गर्ने ऋणमा कडाइ, चालु पुँजीको अभाव र ब्याजदरमा अत्यधिक वृद्धिले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।