चिनियाँ उत्पादनले स्वदेशी माटोका भाडाको कारोबार संकटमा, पेसा नै धरासायी बन्दै

0
Shares

भक्तपुरका प्रजापतिहरु यतिबेला माटोका भाडा बनाउनमा व्यस्त छन् । उनीहरु आफुले उत्पादन गरेका माटाका वस्तुहरुको मागमा आएको गिरावटले भने निरास देखिन्छन् ।

यतिबेला भक्तपुर बोलाछेँमा माटोका भाँडाको प्रदर्शनी नै लागेको छ भन्दा फरक पर्देन । दिपावली नजिकिएसंगै भक्तपुरमा माटोका भाडा बनाउने, सुकाउने, रंग लगाउने, भट्टीमा भाँडा पोल्ने तथा प्याकिङ गर्ने कार्य तिव्र रुपमा चलेको छ । उनीहरुले यतिबेला वर्षभरी व्यापार नभएर छाएको निराशाको साँवा अनि व्याज निकाल्ने गरी काम गरीरहेका छन् । तर, उनीहरुको मेहेनतमा चिनिया उत्पादनले चुनौती बढाइरहेको छ ।

भक्तपुर नगरपालिका ३ निवासी जगनाथ प्रजापतिले माटाका भाडा बनाउन सुरु गरेको ५० वर्ष भइसक्यो । उनले आफु १० वर्षको हुँदा देखि नै माटाका भाडा बनाउने काम गर्दे आएका छन् । पहिला उनका सबै दाजु भाईले माटाका भाडा बनाउने भएतापनि हाल उनी बाहेक अरु सबैले यो पेसाबाट हात झिकिसकेका छन् । तर, जगनाथलाई भने पुर्खादेखि नै गर्दै आएको पेसा छाड्न मन भएन । धेरै मिहेनत लाग्ने तर सिजन बाहेकको समयमा बजार नपाउने हुँदा यो पेसामा टिक्न निकै जटिल छ । तर जगनाथले भने पढाई नै छाडेर बुबालाई यहि काममा सघाएको हुनाले अन्त गएर रोजगारी गर्ने जागर चलेन । उनले २ कक्षासम्म मात्र अध्ययन गरे । अनि बुबासँगै माटो खेलाउन सुरु गरे ।

धेरैले पेसा नै परिवर्तन गरेकोले चाडवाडको समयमा उनलाई धेरै नै अर्डर आउने गरेको छ । तर ६० वर्षीय प्रजापतिलाई माग अनुसारका भाडा पुर्याउन मुस्किल हुने गरेको छ । “भक्तपुरमा पहिला माटाका भाडा धेरैले बनाउथे, अहिले सबैजसोले पेसा छाडिसके त्यसैले पनि चाडवाडको समयमा अर्डर त धेरै आउँछ”, उनले भने, “अर्डर पुर्याउन नै मुस्किल छ ।”

उनका अनुसार तिहार र छठको बेला माटाका पालाको धेरै अर्डर आउने गरेको छ । तर पहिले पहिले धेरै अर्डर आउने घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) कप, थाली लगायतको अर्डर अहिले नआउने उनी बताउँछन् । यस्ता माटोको भाडाको सट्टा प्लास्टिकको प्रयोग हुने गरेको छ । उनी भन्छन्, “माटाका पाला बनाउन धेरै मिहेनत लाग्छ, अहिले त्यसको मात्रै अडर धेरै आउँछ ।”

अहिले उनले दीपावली र छठपर्वमा कलश राखिने भाँडा, ढकना, खुक्रुके, धुपैरो, आन्खोरा, गणेश, सलपा, गपाचा लगायतका सामान बनाउने गरेका छन् । ‘यी सामान पनि पछि प्लास्टिकको नै आउन थाल्यो भने त पेसा नै लोप हुन्छ’ प्रजापतिले गुनासो गरे ।

उनले बनाएका माटाका भाडा सिन्धुपाल्चोक, गोरखा, पाटन, थिमी लगायत स्थानमा बिक्रीका लागि पठाउने गरेका छन् । उनले उक्त स्थानमा माटाका पाला प्रतिगोटा २ रुपैयाँ ५० पैसामा बिक्री गर्ने गरेका छन् । व्यापारीहरुले भने प्रतिगोटा ५ रुपैयाँसम्म बिक्री गर्ने गर्दछन् ।

उक्त सामानहरु बनाउन प्रजापतिले १ किलो माटो ५ रुपैयाँ खर्चेर किन्छन् । जबकी सरकारले माटाका भाडा बनाउन जहाँबाट पनि माटो ल्याउन पाइने भनेर लिखित रुपमा कागज दिएको छ । “सरकारले आफूलाई चाहिने माटो जता गएर पनि ल्याउन पाइने कागज दिएको छ,” उनी भन्छन,“तर पनि हामी लिन जादा हामीलाई माटो दिँदैनन्, माटो किन्न नै पर्छ ।” पहिले उनलाई भने माटो किन्न पर्दैनथ्यो, उनले लमजुङ गएर प्रशस्त माटो ल्याउने गरेका थिए ।

माटोको भाडाँहरु तताउन उनले दाउरा प्रतिकिलो १२ रुपैयाँमा किन्ने गरेका छन् । “पहिलाको भन्दा सुविधा त छ,” उनले भने,“भाडा बनाउने मेसिन थिएन ३० वर्ष त मैले मेसिन बिना हातले नै भाडाहरु बनाए, अहिले मेसिन भएर त सजिलो छ तर माटो र दाउरा किन्नु पर्दा अलि समस्या पर्छ ।” त्यही माटो नि भनेको बेला नआउने उनको गुनासो छ ।

उनलाई यो व्यवसायमा उनकी श्रीमतीले सघाउने गरेकी छिन् । दुई जनाले काम गर्दा मासिक ३० हजारसम्म कमाउँछन् । चाडपर्वको बेला आम्दानी अलि बढी हुने प्रजापतिले बताए । उनले चाडपर्वको बेला ६० देखि ७० हजारसम्म कमाउने गरेका छन् । उनी बिहान ६ बजेदखि बेलुका ८ बजेसम्म नै माटोमा खेलिरहेका हुन्छन् । १७ – १८ घण्टा काम गर्दा पनि त्यती कमाइ हुँदा उनी खासै सन्तुष्ट छैनन् ।

यस्तै भक्तपुर ३ कै राजनाथ प्रजापतिले पनि यो व्यवसाय गर्न थालेको ४० वर्ष भइसक्यो । उनी उमेरले ६० काटिसके । तर पनि यो पेसा छाडेका छैनन् । उनले यही पेसाबाट छोरा छोरी पढाए । तर छोराछोरीलाई यो पेसा हस्तान्तरण गर्न भने सकेनन् । अहिले उनकी एउटी छोरी अष्टेलियामा छिन् । सबै छोरा जागिरे छन् ।

उनले धेरै काम गर्न सक्दैनन् । उनी भन्छन्, “भाडा बनाएर मात्रै हुँदैन, सुकाउनु पर्छ, रंग लगाउनु पर्छ, आगोमा पोल्नु पर्छ, म त काम गर्न नसक्ने भइसके छोराछोरीले यो काम गर्दैनन् ।” यो पेसाबाट खान समेत नपुग्ने उनको भनाइ छ ।

जगनाथलाई जस्तै उनलाई पनि माटोको समस्या पर्ने गरेको छ । उनले पहिले आफैँ यतै नजिकैबाट माटो ल्याउने गरेका थिए । अहिले भने साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि माग अनुसार आउदैन, मुख्य खपत हुने बेला माटोको अभावले पेशा नै संकटमा पर्ने अवस्था आएको उनको गुनासो छ् । उनले पनि तिहारको समयमा मासिक ५० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

बजारमा माटोको भाडाको माग घट्नुको मूख्य कारण चिनियाँ उत्पादनको आयात बढेर पनि हो । माटोको भाडाका लागि लाग्ने लागत भन्दा प्लाष्टिका उत्पादनको लागत कम पर्ने भएकाले पनि माटोका भाडाको माग बजारमा घटेको उनीहरुको भनाई छ । त्यसका साथै चिनियाँ उत्पादनहरु प्रयोग गर्न पनि सस्तो र टिकाउन हुने भएकाले पनि स्वेदशी भाडाका उत्पादनको माग कम हुने गरेको उनीहरुको बुझाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।