भाटभटेनी सुपरमार्केटद्धारा भूकम्प पीडितलाई ३५ लाखको खाद्यान्न वितरण

0
Shares

भाटभटेनी सुपर मार्केट प्रालिले रुकुम पश्चिमका भूकम्पपीडितलाई खाद्यान्न सहयोग गरेको छ । रुकुमपश्चिम जिल्लाको सानीभेरी र आठविकोट नगरपालिकालाई पुग्ने गरी जिल्ला प्रशासनमार्फत प्रालिले खाद्यन्न सहयोग गरेको हो ।

प्रालिले जिल्लामा १ हजार ६८० बोरा अर्थात् ४२ टन जिरा मसिनो चामल सहयोग गरेको भाटभटेनी सुपर मार्केट स्टोर प्रालिका क्षेत्रीय प्रबन्धक विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार खाद्यन्नबापत रुकुमपश्चिममा आएको चामल ३५ लाख बराबरको हो ।

पहिलो चरणमा भाटभटेनीले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ करोड ११ लाख १ हजार १११ रुपैयाँ सहयोग गरिसकेको छ । प्रभावित क्षेत्रमा खाद्यान्न अभाव नहोस् भनेर दोस्रो चरणमा चामल सहयोग गरिएको क्षेत्रीय प्रबन्धक भट्टराईले जानकारी दिए । रुकुमपश्चिममा वितरण सकिएलगत्तै जाजरकोटमा पनि राहत सामग्रीअन्तर्गत चामल वितरण गर्ने कार्यक्रम रहेको छ । जाजरकोटका लागि पनि ३५ लाख बराबरको खाद्यन्न सामग्री वितरण गरिने उनको भनाइ छ ।

आवश्यक परेमा थप राहत सामग्री भूकम्पपीडितलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ । भाटभटेनीले उपलब्ध गरेको चामल जिल्ला प्रशासन मार्फत सानीभेरी गाउँपालिमा पुगिसकेकाले छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।