चौबिस अंकले घट्यो नेप्से, चाडवाड सकिएपनि सेयर बजारमा फर्किएन रौनकता

0
Shares

तिहारपछि पहिलो दिन सोमबार झिनो अंकले बढेको सेयर बजार दोस्रो दिन मंगलबार नै उच्च अंकले घछेको छ । सोमबार १.३९ अंकले बढेको बजार आज २३.८२ अंकले घटेको हो । गिरावटसँगै सूचक १८२९.६५ बिन्दुमा आएको छ ।

दसैं, तिहार र छठ जस्ता चाडवाड सकिएपनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारमा रौनकता फर्कन सकेको छैन । बजारमा बिक्री चाप उच्च हुँदा दबाब कायम नै छ । दैनिक कारोबार एक अर्ब हाराहारीमा नै छ भने बजारमा सक्रिय लगानीकर्ताको संख्या घट्दो छ । मंगलबार कारोबार रकम ९५ करोड ४ लाख ७९ हजार ५८४ रुपैयाँमा समेटिएको छ । यसदिन २८५ कम्पनीका ३६ लाख ७५ हजार १०१ कित्ता सेयर ३७ हजार ६०७ वटा संख्यामा खरिद बिक्री भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये म्युचुअल फण्ड बाहेक १२ वटै घटेको छ । उत्पादन तथा प्रशोधनमुलक सर्वाधिक ३.१२, लघुवित्त २.८९ र होटल तथा पर्यटनमुलक २.६२ प्रतिशत प्रतिशतले घटेको बजारमा वित्त, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र ब्यापारको इन्डेक्स पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस दिन हिमालयन डिस्टिलरीको सर्वाधिक ७ करोड ७८ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै सोनापुर मिनिरल्स एण्ड आयलको ४ करोड ३९ लाख २५ हजार, शिवम् सिमेन्टको ३ करोड ७० करोड ५८ लाख, सोल्टी होटलको २ करोड ८८ लाख २७ हजार र हाथवे इन्भेस्ठमेन्टको २ करोड ६८ लाख ८१ हजारको सेयर कारोबार भएको छ ।

मंगलबार मेन्छियम हाइड्रोपावरको सेयरमूल्य ८.१३ प्रतिशतले बढेर २३१ रुपैयाँ ४० पैसा पुगेको छ । यस्तै विपिडब्लु लघुवित्तको ७.४६ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ६.१४ प्रतिशत, १०% प्रभु डिबेञ्चर २०८४ को ६.११ प्रतिशत र एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको इकाईमूल्य ५.६७ प्रतिशतले बढेको छ ।

आजको बजारबाट माथिल्लो मैलुङ्गखोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत घटेर २३३ रुपैयाँ ८० पैसामा झरेको छ । यस्तै महिला लघुवित्तको ८.४६ प्रतिशत, उपकार लघुवित्तको ७.३२ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.२७ प्रतिशत र हिमालयन डिष्टिलरीको ६.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

मंगलबार कारोबार कित्ताका आधारमा लइमी इक्वीटी फन्डको सर्वाधिक २ लाख ९ हजार ७६० इकाई तथा सोनापुर मिनरल्सको १ लाख ६७ हजार ७३० कित्ता कारोबार भयो । कारोबार संख्याका आधारमा पनि सोनापुर मिनरल्सको ५ हजार ९७० वटा कारोबार भएको छ ।

मंगलबारको गिरावटपछि कुल बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १ करोड ८१ लाख रुपैयाँमा समेटिएको छ । सोमबार २८ खर्ब ५५ अर्ब १६ करोड ३० लाख रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा मंगलबार बजार पुँजीकण ३४ अर्ब १४ करोड ४९ लाख रुपैयाँले घटेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।