निक्षेप संकलन मार्फत अधिक तरलता तान्दै राष्ट्र बैंक, मागको करिब ४ गुणा आवेदन

0
Shares

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता खिच्नका लागि निक्षेप संकलन उपकरणको प्रयोग गरेको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १० अर्ब खिचेको हो ।

केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात निक्षेप संकलन दर भन्दा तल अन्तर बैंक दर झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । केन्द्रीय बैंकका अनुसार औसत अन्तर बैंक दर २.५३ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदर करीडोरको तल्लो सीमा ४.५ प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारसम्ममा वित्तीय प्रणालीमा ५५ अर्ब अधिक तरलता रहेको छ ।

निक्षेप संकलन दर भन्दा अन्तर बैंक दर तल झरेपछि केन्द्रीय बैंकले बुधबार १० अर्ब बरावरको सात दिने निक्षेप संकलन उपकरण जारी गरेको छ । उक्त निक्षेप संकलनका लागि १२ सहभागिले ७१ वटा बोल आवेदन मार्फत ३७ अर्बको माग गरेका थिए । वित्तीय प्रणालीमा अधिक तरलता भएपनि निक्षेप संकलन उपकरणका लागि अधिक माग गरेको हो । अधिक मागका कारण औसत रेट पनि २ प्रतिशत भन्दा तरलता रहेको छ ।

बुधबार निक्षेप संकलन उपकरणको उच्च रेट २.१७२३ र न्यून १.६०० प्रतिशत माग गरेका थिए । यसको औसत रेट १.९६५७ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

बुधबार निष्कासन भएको निक्षेप संकलनको आकार सानो भएकाले धेरै प्रतिस्पर्धा भई ब्याजदर न्यून भएको केन्द्रीय बैंकका एक अधिकारीले बताए । “ब्याजदर करीडोरको तल्लो सीमा कायम गर्न केन्द्रीय बैंकले थप निक्षेप संकलन उपकरण ल्याउनु पर्ने देखिन्छ,”ती अधिकारीले भने,“अहिले निक्षेप संकलनको रेट थोरै भएपनि तरलता कम भएसंगै त्यो बढ्छ ।”

केन्द्रीय बैंकका अनुसार गत सोमबारसम्ममा वित्तीय प्रणालीको कुल निक्षेप ५९ अर्ब २९ अर्ब रहेको छ । सो अवधिसम्ममा प्रणालीको कर्जा लगानी ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी सो दिनसम्ममा बैंकिङ प्रणालीको औसत कर्जा निक्षेप अनुपात ८१.१४ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।