बीमाको सेयर बढेसँगै नेप्सेको वृद्धि टिक्यो, कारोबारमा समेत बढोत्तरी

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार लगानीकर्ताको प्रवेश बीमा क्षेत्रको सेयरमा हुँदा सेयर बजारको वृद्धि टिकेको छ । यससँगै कारोबार रकम समेत बढेको छ । अघिल्लो दिन बुधबारको तुलनामा दैनिक कारोबार रकम २६ करोड १३ लाखले वृद्धि हुँदै १ अर्ब ३४ करोड नाघेको हो ।

तीब्र उतारचढावपूर्ण रहेको बजारमा नेप्से ९.८७ अंकले बढेर २०६०.२० बिन्दुमा अडिएको छ । मंगलबार २३.८२ अंकले घटेको बजारमा बुधबार पनि २०.६१ अंकको सुधार आएको थियो । त्यस्तै आज ठूला कम्पनीका कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स २.७६ अंकले बढेर ३५६.९८ विन्दुमा पुगेको छ ।

सेयर बजारमा हरियाली बैंकिङ्ग, लघुवित्त र अन्य बाहेक दश उपसमुहगत सूचक बढेका छन् । बैंकिङ्ग, लघुवित्त र अन्य क्रमश, ०.७२, ०.२८ र ०.१० प्रतिशतले घटेका छन् । लगानीकर्ताको आकर्षण जीवन बीमा कम्पनीको सेयरमा बढ्दा उक्त समुहको इन्डेक्स ३.३७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा पनि १.८६ प्रतिशतले बढोत्तरी भएको छ । विकास बैंक, वित्त, जलविद्युत र ब्यापारको इन्डेक्स पनि १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

बिहीबार २९२ स्क्रिप्टका ४४ लाख २० हजार ५१८ कित्ता इकाई धितोपत्र १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन बुधबार २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता सेयर १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बराबरमा खरिद बिक्री भएको थियो ।

एक अर्ब ३४ करोड रुपैयाँको सयर कारोबार भएको बिहीबारको बजारमा नबिल बैंकको सेयरमूल्य घटेर उच्च कारोबार भएको छ । बैंकको २ लाख ५४ हजार ९७९ कित्ता सेयर १३ करोड १० लाख ७६ हजार रुपैयाँमा खरिद बिक्री भयो । गत आवको नाफाबाट १२ वर्षयताकै कम लाभांश प्रस्ताव गरेसँगै कम्पनीको सेयर मूल्य ८.२० प्रतिशत घटेर ५१५ रुपैयाँमा झरेको छ । बैंकको एक वर्ष अवधिको सबैभन्दा कम मूल्य ५०५ रुपैयाँ रहेको छ ।

यस्तै सोनापुर मिनरल्स एण्ड आयलको ९ करोड ५८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड ४२ लाख, सिटिजन लाइफको ५ करोड ३० लाख र रिलायबल नेपाल लाइफको ५ करोड २१ लाख बढीको सेयर खरिद बिक्री भएको छ । बुद्धभूमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । अघिल्लो दिन १० प्रतिशतले सेयर मूल्य बढेको यस कम्पनीका लगानीकर्ताले बिहीबार पनि ९.९७ प्रतिशतका दरले कमाएका हुन् । यससँगै कम्पनीको मूल्य ३४८ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले ८.५८ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.५४ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ८.२५ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सको ६.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।बिहीबार नेप्सेमा सुधार आएपनि नबिल बैंकको सेयरकाे भाउ सर्वाधिक ८.२० प्रतिशतले घटेको छ । यसैगरी किसान लघुवित्तको ५.७८ प्रतिशत, सपोर्ट लघुवित्तको ५.३४ प्रतिशत, महुली लघुवित्त ४.५३ प्रतिशत र हिमालयन लघुवित्तको सेयर मूल्य ३.७३ प्रतिशतले घटेको छ ।

बिहीबारको बढोत्तरीपछि कुल बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब १२ करोड ३ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार बजार पुँजीकरण १५ अर्ब २२ करोड रुपैयाँले बढेको हो । बुधबार ३१ अर्ब ८८ करोड ३४ लाख रुपैयाँले बजार पुँजीकरण बढेर २८ खर्ब ५२ अर्ब ९० करोड १५ लाख रुपैयाँ पुगेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।