लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीको वार्षिक आम्दानी पौने २ अर्ब

0
Shares

व्यापारिक घराना लक्ष्मी ग्रुपको लगानी रहेको सुजल डेरी प्रालिले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८६ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष (२०७८/७९) मा १ अर्ब ७१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी गत आवमा १५ करोड ३० लाखले घटेको हो । कम्पनीको सञ्चालन आम्दानीमा सामान्य वृद्धि देखिएता पनि अन्य वित्तीय सूचांकमा भने गिरावट आएको छ ।

ह्रासकट्टी, परिशोधन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा अघिल्लो आवमा कुल सञ्चालन आम्दानीको ५.४ प्रतिशत थियो भने गत आवमा सो नाफा ०.४ प्रतिशत विन्दुले घटेर ५ प्रतिशतमा पुगेको छ ।

सन् २००५ मा स्थापना भएको सुजल डेरीले दुध, दही, घिउ, बटर, पनिर, दुध पाउडरको उत्पादन गर्दै आएको छ भने सफल र लभ बर्डस ब्रान्डनामबाट बिक्री गरिरहेको छ । कम्पनीको उत्पादन युनिट कास्की जिल्लाको पोखरामा रहेको छ ।

लक्ष्मी ग्रुपको लगानी रहेको यस कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठ रहेका छन् । कम्पनीमा उनीसँगै सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ, निराकार श्रेष्ठको प्रति व्यक्ति १८ प्रतिशत सेयर रहेको छ । यस्तै कम्पनीको १० प्रतिशत सेयर हिस्सा सुजल फूड प्रालिको छ ।

कम्पनीले ९३ करोड २६ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ४१ करोड ८१ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ५१ करोड ४५ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।