सर्वोत्तम सिमेन्टको आइपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन, सोमबार बोलकबोलको कट अफ निर्धारण गरिने


सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग विधि मार्फत बिक्री खुला गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले मंसिर ६ गतेदेखि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गरेको थियो ।

कम्पनीले संस्थागत लगानीकर्ताहरुका लागि बिक्रीमा ल्याउने सेयर संख्याको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर बिक्री खुला गरेको थियो ।लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनुपर्नेछ ।

योग्य संस्थागत लगानीकर्ताहरुले बोलकबोल प्रक्रिया मार्फत आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ राखेकोमा हाल त्यसलाई घटाएर ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरेको छ ।

संस्थागत लगानीकर्ताहरुबाट कायम कटअफ मूल्यपछि सर्वसाधारणमा निष्कासन हुने मूल्य निर्धारित हुनेछ । सोमबार योग्य संस्थागत लगानीकर्ताहरुबाट प्राप्त आवेदनका आधारमा निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ निर्धारण गरिने कम्पनीले जनाएको छ । यसरी कायम भएको कटअफ वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँड हुनेछ । मूल्य कट अफ मूल्यभन्दा कबोल गरिएको मूल्य कम हुने संस्थागत लगानीकर्ताले भने सेयर प्राप्त गर्ने छैनन् ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक बिल्डिङ्ग विधि मार्फत निष्काशन गर्न अनुमति पाएको थियो ।

सेयर निष्काशनका लागि कम्पनीले गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस्तै सह–निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।