विद्युतीय सवारीबाट मात्रै सरकारलाई ३ अर्ब आम्दानी, आयात ३ गुणाले बढ्यो


चालु आर्थिक वर्षको पहिलो चार महीनामा सरकारले विद्युतीय सवारी साधनको आयातबाट मात्रै करिब ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारको यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे २ गुणाले धेरै हो ।

पेट्रोलियम पदार्थको आयातलाई न्यूनीकरण गर्नका लागि सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गरेको छ । त्यसका लागि विद्युतको शुल्क घटाउने देखि भन्सार शुल्क समेत घटाएपछि विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ । साथै स्वदेशमै उत्पादन हुने विद्युत खपत बढाउनका लागि समेत सरकारले चुलो देखि सवारी साधनसम्म विद्युतको प्रयोग बढाउने नीति लिएको हुनाले पनि विद्युतीय सवारीको आयात बढेको हो ।

चालु आर्थिक वर्षको कात्तिक महिनसम्ममा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको २ हजार ७ सय ८७ वटा इलेक्ट्रीक कार, जीप र भ्यान आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा करिब तीन गुणाले धेरै हो । गत आर्थिक वर्षको कात्तिकसम्ममा २ अर्ब ८६ करोड ३५ लाख ६२ हजार मूल्य बराबरको १ हजार १८ वटा मात्र विद्युतिय गाडी आयात भएको थियो ।

विद्युतिय सवारीको आयातबाट सरकारले चालु आवको चार महिनाको अवधिमा २ अर्ब ९६ करोड ९९ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व गतय आवको सोही अवधिको तुलनामा २४६ प्रतिशतले धेरै हो । गत आवको सो अवधिमा सरकारले ८५ करोड ६२ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

भन्सार विभागका अनुसार चार महिनामा ५० किलोवाट भन्दा मुनीका १ हजार २७९ वटा चारपांग्रे सवारी साधान नेपाल भित्रिएका छन् । यसरी भित्रिनेमा इलेक्ट्रीक कार, जीप र भ्यान रहेको छन । ती सवारीको मूल्य २ अर्ब ३९ करोड ४१ लाख ९६ हजार रुपैयाँ पर्न आउछन । जसबाट सरकारले ७१ करोड ६६ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै चार महिनाको अवधिमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्ममा ४ अर्ब ३० करोड ३२ लाख ४२ हजार रुपैयाँ बराबरको १ हजार ४ सय ८१ वटा चारपांग्रे विद्युतीय सवारीको आयात भएको छ ।

जसबाट २ अर्ब १० करोड ९७ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै १०१ किलोवाटदेखि २०० सम्मका ६ करोड ५४ लाख ४० हजार रुपैयाँ बराबरको १७ वटा चारपांग्रे विद्युतीय सवारी आयात भएका छन् । उक्त साधन ल्याए बापत सरकारले ४ करोड ६६ लाख ७ हजार रुपैयाँ राजस्व उठाएको छ । यस्तै चार महिनाको अवधिमा २०१ देखि ३०० किलोवाटसम्मका ६ करोड ८७ लाख ७३ हजार रुपैयाँ बराबरको १० वटा सपारी साधान भित्रिएको हो । जसबाट सरकारले ९ करोड ६८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवको ४ महिनाको अवधिमा १०० किलोवाटदेखि २०० किलोवाटसम्मको ११ करोड ३८ लाख ७० हजार रुपैयाँ बराबरको २५ वटा साधन नेपाल भित्रिएका थिए । यस्तै २०० देखि ३०० किलोवाटसम्मको १ करोड ८६ लाख ३४ हजार रुपैयाँ बराबरको ३ वटा इलेक्ट्रीक चारपांग्रे नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यस्तै १०० किलोवाट भन्दा मुनिका २ अर्ब ७३ करोड १० लाख ५८ हजार रुपैयाँ बरारबको ९ सय ९० वटा चारपांग्रे सवारी साधन नेपाल भित्रिएका छन् ।

विद्युतिय सवारीको आयात बढेसँगै डिजेलको आयात घट्यो

विद्युतिय सवारीको आयात बढेसँगै आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात घटेको पाइएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा उक्त वस्तुको आयात घटेको हो ।

चालु आवको चार महिनाको अवधिमा ४० अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको ३ लाख ५९ हजार ६०० किलोलिटर डिजेल आयात भएको छ । जबकी गत वर्षको चार महिनाको अवधिमा ४४ अर्ब २८ करोड ५३ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ४० हजार ८३० किलोलिटर डिजेल आयात भएको थियो ।

डिजेल बापत सरकारले चालु आवको चार महिना अवधिमा १४ अर्ब ९१ करोड ४७ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने सरकारले १४ अर्ब ५४ करोड ६१ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै चालु आवको चार महिनामा २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।

२ लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको हो । जसबाट १२ अर्ब ८८ करोड ७७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको ४ महिनामा २३ अर्ब ६९ करोड ७० लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख २९ हजार १३६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।