सेयर बजारमा नाफा सुरक्षित गर्ने होडले दोहोरो अंकको करेक्शन

0
Shares

तीन दिन लगातारको वृद्धिपछि सोमबार नाफा सुरक्षित गर्ने लगानीकर्ता बढ्दा सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । पछिल्ला तीन दिनमा ७८ अंकले बढेको नेप्से सूचक आजको बजारमा ११ अंक बढीले घटेको हो । पछिल्लो दिनमा नेप्सेमा आएको वृद्धिको टिकाउप्रति लगानीकर्ता आश्वस्त हुन नसक्दा नाफा सुरक्षित गर्ने क्रम बढेको हो ।

सोमबार नेप्से ११.२७ अंकले घटेर १८९६.६७ बिन्दुमा अडिएको छ । बजारमा आएको करेक्शनसँगै कारोबार रकम समेत आज घटेर १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५६ रुपैयाँमा समेटिएको छ । दिनभरमा २९० स्क्रिप्टको ६० लाख १७ हजार ३९७ कित्ता सेयर ५२ हजार ४८० वटा सङ्ख्यामा खरिद बिक्री भएको छ ।अघिल्लो दिन आइतबार २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँ बराबरको ६५लाख ३० हजार ६४३ कित्ता सेयर खरिद बिक्री भएको थियो । 

आज कारोबारमा आएका होटल, लगानी र म्युचुअल फन्ड सामान्य अंकले बढेपनि बाँकी सबै ओरालो लागेका छन् । जीवन बीमा ०.८९ प्रतिशत, बैंकिङ्ग ०.८४ प्रतिशत, लघुवित्त ०.८२ प्रतिशत, उत्पादन ०.८० प्रतिशत, जलविद्युत ०.७९ प्रतिशत र फाइनान्स ०.७७ प्रतिशतले घटेको छ।
सोमबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा धेरै ७ करोड ७७ लाख ६३ हजारको सेयरखरिद बिक्री भएको छ । यस्तै रिलायबल नेपाल लाइफको ७ करोड ६० लाख ६५ हजार, सिटिजन लाइफ ६ करोड ४८ लाख ४९ हजार, प्रभु बैंकको संस्थापक ५ करोड २६ लाख ७१ हजार र शिवम् सिमेन्टको ५ करोड १६ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आजको बजारमा अपर स्याङ्गे हाइड्रोपावरको सबैभन्दा धेरै १० प्रतिशतले बढेर प्रतिकित्ता ३४७ रुपैयाँ ६० पैसा पुगेको छ । यस्तै अभियान लघुवित्त ७.७२ प्रतिशत, माथिल्लो मैलुङ्ग खोला ७.४९ प्रतिशत, शुभम् पावर ६.१३ प्रतिशत र बिशाल बजार कम्पनीको ६.१२ प्रतिशतले सेयरको भाउ उकालो लागेको छ ।

उता आजको बजारबाट स्वाभिमान लघुवित्तको सेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य ८.०४ प्रतिशत अर्थात ७७ रुपैयाँ ४० पैसा घटेर ८८५ रुपैयाँमा झरेको छ । यसैगरी एनआईसी एशिया ब्यालेन्स्ड फन्डको इकाई ५.६८ प्रतिशत, स्वरोजगार लघुवित्त ५.१७ प्रतिशत, मिर्मिरे लघुवित्त ४.५३ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको ३.८२ प्रतिशतले घटेको छ ।

कारोबार कित्ताका आधारमा प्रभु बैंकको संस्थापक सबैभन्दा धेरै ४ लाख ९७ हजार ३६९ कित्ता सेयर कारोबार भयो । कारोबार संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड ६ हजार ६१० वटा सहित अग्र स्थानमा रहेको छ ।

सोमबारको कारोबापछि कुल बजार पुँजीकरण १७ अर्ब ३२ करोड ३७ लाख रुपैयाँले घटेर २९ खर्ब २४ अर्ब ४२ करोड १० लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन आइतबार २९ खर्ब ४१ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।