नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला: अर्थतन्त्र र उद्योग व्यवसायलाई चलायमान बनाउन सहयोगी हुने अपेक्षा

0
Shares

सभामुख देवराज घिमिरेले निजी क्षेत्रले वर्षौदेखि उठाइरहेको प्रदर्शनी स्थल निर्माणको कार्यलाई अगाडि बढाउन आफना तर्फबाट पहल गर्ने विश्वास दिलाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय व्यापार मेलाको यो नवौं स्करण हो । मेला नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना भएको हो । मेलाको सह आयोजकमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ रहेका छन् ।

निजी क्षेत्रले करिव तीन देशकदेखि स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि सरकारलाई आग्रह गर्दै आएको छ । उच्चस्तरीय प्रदर्शनी स्थलको अभावमा व्यवस्थित रुपमा मेला महोत्सव आयोजनामा ठूलो कठिनाई भइरहेको छ ।

उच्चस्तरीय प्रदर्शनी स्थल भएमात्र मेला महोत्सवको आयोजनालाई उत्कृष्ट रुपमा व्यवस्थापन गर्न सकिनेमा महासंघको जोड छ । स्तरीय प्रदर्शनी स्थलको अभावको विषयलाई महासंघले राखे पश्चात प्रमुख अतिथि सभामुखले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मंसिर १८ गतेसम्म चल्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपाल सहित चीन, भारत, बंगलादेश, पाकिस्तानका गरी करिव २१० स्टलहरुमा मार्फत विभिन्न वस्तुु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

`मेला आयोजना स्थलको अभाव केन्द्रदेखि प्रदेशसम्मै महशुुस गरिएको छ । म जहाँ गएपनि मेला स्थलको अभाव भएको कुरा निजी क्षेत्रले राख्दै आउनुु भएको छ। उच्चस्तरीय प्रदर्शनी स्थल मुलकका लागि आवश्यक छ यसका लागि म सरकारमा तत्काल पहल गर्छु तपाईहरुलाई सहयोग गर्छु´, सभामुख घिमिरेले भने ।

सुस्ताएको अर्थतन्त्र र उद्योग व्यवसायलाई चलायमान बनाउन यो मेला सहयोगी हुने मैले ठानेको छु सभामुख घिमिले भने‐’मेलामा विभिन्न देशबाट भएको सहभागिताबाट व्यवासयिक साझेदारी, लगानी तथा काम गर्ने तौरतरिका समेत आदान प्रदानमा सहयोग पुुग्ने अपेक्षा मैले गरेको छु ।’

उद्योग सचिव मुकुन्द प्रसाद निरौलाले प्रदर्शनी स्थल निर्माणको कार्यलाई तत्तकाल अगाडि बढाइने बताए । हामीले अहिले हेरिरहेको क्षेत्र र चोभारस्थित सुुख्खा बन्दगाह कहां उपयुक्त हुन्छ यस विषयमा महासंघसंग छिट्टै बसेर त्यसको टुुंगो लगाई अगाढि बढाउने प्रतिवद्धता पनि जनाए ।

त्यसअघि स्वागत मन्तव्य राख्दै महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले स्तरीय प्रदर्शनी स्थल निर्माणका लागि वर्षौदेखि अनुरोध गर्दा पनि त्यसले मूर्तरुप नपाएकोमा दुःखेसो गरेका थिए । उनले व्यापार मेला आयोजना गर्ने जिम्मेवारी उद्यमी व्यवसायीको संघ संस्थालाई मात्र दिन अनुरोध पनि गरे ।

सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले महासंघले ५६ सालदेखि अन्तर्राष्ट्रिय मेला आयोजनालाई निरन्तरता दिँदै आएको तर हाम्रा पूर्वाधार भने पहिलेकै अवस्थामा रहेकोमा दुःख व्यक्त गरे ।, उनले अन्तर्राष्ट्रिय व्यापार मेला सार्क राष्ट्रहरु र चीनका उद्यमी व्यवसायी, लगानीकर्तालाई एकै थलोमा ल्याई लगानी प्रवद्र्धन आपसी सहकार्य बढाउन प्रभावकारी माध्यम बन्दै गएको बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत शरद विक्रम राणाले अन्तर्राष्ट्रिय व्यापार मेलामा व्यापार प्रवद्र्धन केन्द्रले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले प्रदर्शनी स्थल निर्माण गर्ने कार्यलाई सरकारले मुख्य एजेण्डामा राखेर सहयोग गर्नुपर्नेमा पनि जोड दिए।

नेपालका लागि चीनका राजदुत छन सोङको उपस्थिति रहेको समुद्घाटन समारोहमा चिनियाँ वाणिज्य मन्त्रालयका उपमहानिर्देशक देङ बोले एनआईटिएफमा हरेक साल सहभागि हुन पाएकोमा खुशी व्यक्त गरे । उनले मेलामा आफनो देशको निरन्तर सहभागीता रहने प्रतिबद्धता पनि जनाए ।

महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल सरकार र निजी क्षेत्रको संयुक्त सहकार्यमा आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सार्वजनिक निजी साझेदारीको सफल उदाहरण रहेको बताए ।

उद्योग व्यवसाय र समग्र अर्थतन्त्रमै सुुस्तता छाएको अवस्थामा अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजनाबाट थोरै भएपनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुुग्ने विश्वास उपाध्यक्ष ढकालले व्यक्त गरे । कार्यक्रममा महासंघको व्यापार मेला समितिका सभापति उमेश डालमियाले अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तृत प्रकाश पारेका थिए ।

मेलामा सहभागीदेशका प्रतिनिधिमण्डल बीच आपसी व्यवसायिक भेटवार्ता पनि हुने छ । मेलामा नेपाली यूवा उद्यमी मंचका स्टलहरु पनि राखिएका छन् । मेलाको करिव १ लाख आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा आइएमई पे यूजरका लागि प्रवेश पास निःशुल्क गरिएको छ ।

मेलाको प्रमुख प्रायोजक आइएमई पे, इन्स्याेरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इस्याेरेन्स, सह-प्रायोजक हेरिटेज फ्लाेरिङ कार्पेट इण्डष्ट्रि, आईएमएस ग्रुपको सहयोग रहेको छ । नेपाली तयारी पोशाक उद्योग संघ, नेपाल जुत्ता उत्पादक संघ, नेपाली युवा उद्यमी मञ्च मेलामा सहयोगी रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।