बाह्र दिनमा सेयर धितो कर्जा साढे ३ अर्ब बढ्यो, कर्जा बढेपनि सेयर बजारमा नकारात्मक असर

0
Shares

नेपाल राष्ट्र बैंकले लचकता अपनाएसंगै सेयर धितो कर्जा प्रबाह बढेपनि धितोपत्र बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन । अर्थतन्त्रको मन्दी, उच्च रहेको ब्याजदर तथा गुमाउने लगानीकर्ता धेरै भएपछि सृजना भएको नकारात्मक ‘सेन्टीमेन्ट’का कारण धितोपत्र बजार सकारात्मक हुन नसकेको हो ।

कोरोना महामारी, आर्थिक मन्दी तथा सूचिकृत कम्पनीले घोषणा गरेको न्यून प्रतिफलका कारण पनि बजारमा सुधार आउन नसकेको जानकारहरु बताउँछन् । केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा हटाउने आशामा रहेका लगानीकर्तालाई सीमा कायम राख्दै आकार मात्र बढाइएको हुनाले पनि बजारमा प्रभाव नदेखिएको लगानीकर्ताले बताउने गरेका छन् । तर, सेयर धितो लिएको कर्जा धितोपत्र बजारमा नै परिचालन नहुने भएकाले पनि कर्जा प्रबाहमा आएको सुधारको प्रभाव बजारमा नदेखिएको हुनसक्ने लगानीकर्ताहरुको अनुमान छ ।

केन्द्रीय बैंकले असोज १८ गते निर्देशन जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा व्यीक्तगततर्फ १५ करोड रुपैयाँ तथा धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गर्यो । यसअघि व्यक्तिगत तथा संस्थागत दुबैतर्फ कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको नीति खुकुलो बनाउने हल्ला संगै निर्देशन आउनु भन्दा अघिल्लो दिन अर्थात गत असोज १७ गते ९.२४ अंकले बढेको सेयर बजार परिसूचक नेप्से निर्देशन आएको दिन अर्थात असोज १८ गते ११ अंक भन्दा धेरैले घटेको थियो । लगानीकर्ताले अपेक्षा गरे अनुसार नभएपछि बजारमा झनै नकारात्मक प्रभाव पर्न गयो । कर्जा सम्बन्धी व्यवस्था खुकुलो बनाएसंगै सेयर बजार सुचक निरन्तर केही दिन घट्यो । तर, निर्देशन आएको अर्को साता सेयर बजारमा उच्च अंकको सुधार देखिएको भएपनि दुई दिन भन्दा टिक्न सकेन ।

केन्द्रीय बैंकले सेयर धितो कर्जामा खुकुलो नीति लिएको निर्देशन आउँदा धितोपत्र बजार सूचक १९५६.९२ अंकमा रहेको थियो ।

कन्द्रीय बैंकका अनुसार निर्देशन आएपछि १२ दिनमा ३ अर्ब ३३ करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ । चालु आर्थिक वर्षको साउन महिनामा घटेको सेयर धितो कर्जा भर्दामा केही बढेको थियो । त्यसैगरी असोज महिनाको मध्यमा आएको निर्देशन पछि उक्त शिर्षकको कर्जा उल्लेख्य बढेको देखिन्छ ।

गत आर्थिक वर्षको असारसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रबाह भएको कुल सेयर धितो कर्जा ७६ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बरावरको थियो । त्यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस्तो कर्जा झनै घटेर ७६ अर्ब ४१ करोड ३० लाख रुपैयाँमा झरेको थियो । तर, चालु आवको दोस्रो महिनामा भने उक्त शिर्षकको कर्जा केही बढेर ७७ अर्ब ६८ करोड ८० लाख रुपैयाँ बरावरको भएको छ ।

असोज महिनाको १८ गते आएको निर्देशनले सेयर धितो कर्जा बढाएर ८१ अर्ब १ करोड ८० लाख रुपैयाँ पुगेकोे छ । यसरी हेर्दा असोजको निर्देशन पछि बैंक तथा वित्तीय संस्थाले केही खुला भएर सेयर धितो कर्जा प्रबाह गरेको देखिन्छ । पछिल्ला ३ महिनामा असोजमा मात्रै ३ अर्ब ३३ करोडले सेयर धितो कर्जा बढेको छ । त्यो पनि केन्द्रीय बैंकको निर्देशन पछि नै बढेको कर्जा लगानी बढेको हुनुपर्ने बैंकरको भनाई छ ।

भदौ महिनामा करिब एक अर्बले बढेको सेयर धितो कर्जा केन्द्रीय बैंकको नीतिका कारण असोजमा ३ अर्ब ३३ करोडले बढेको एक बैंकरले बताए । “असोज पछि कात्तिकमा पनि सेयर धितो कर्जा बढेको छ,” ती बैंकरले भने,“बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थियो, सेयर बजारमा लगानी विस्तार गर्न भन्दा पनि अन्य कारोबार सल्टाउनका लागि भएपनि सेयर कर्जा लिने प्रचलन बढेको छ ।” पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याका कारण धेरै उद्यमी व्यवसायीको कारोबार अस्थिर भएको हुनाले पनि सेयर धितो कर्जा बढ्योे तर, सेयर बजारमा त्यसको असर नदेखिएको हुन सक्ने उनको भनाई छ ।

पछिल्लो समयमा बैंकको ब्याजदर, कर्जामा नियन्त्रण गर्ने नीति, आर्थिक मन्दी तथा कोरोना महामारीको असर तथा अर्थतन्त्रमा देखिएको समस्याले सूचिकृत कम्पनीको लाभाशं क्षमतामा आएको कमीले सेयर बजारको ओरालो यात्रा रोकिएको छैन । सेयर बजार निरन्तर ओरालो लागेपछि केन्द्रीय बैंकले सेयर धितो कर्जा खुकुलो बनाएपनि सुधार नदेखिएको हो ।

केन्द्रीय बैंकले उक्त निर्देशक ल्याउदाँ १९६७.९७ अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंसिर १४ गते बिहीबारसम्म आइपुग्दा १८५८.५८ अंकमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।