तारागाउँ रिजेन्सीको कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

0
Shares

तारागाउँ रिजेन्सी होटलको सेयर कारोबार रोक्का भएको छ । कम्पनीले सेयरमूल्यमा प्रभाव पार्ने निर्णय समयमा नै सार्वजनिक जानकारीमा ल्याउनुपर्ने धितोपत्र सूचीकरण विनियमावली भएको व्यवस्था पालना नगरेपछि नेप्सेले स्पष्टिकरण सोध्दै कम्पनीको सेयर कारोबार स्थगन गरेको हो ।

मङ्सिर १६ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को लाभांश घोषणा गरेको भएपनि मङ्सिर १७ गते आइतबार बेलुका ५ः१५ बजे मात्र मात्रै कम्पनीले सार्वजनिक जानकारीमा ल्याएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

नेप्सेले कम्पनीको धितोपत्रको कारोबार स्थगन गर्दै पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

तारागाउँ रिजेन्सी होटलले १५ प्रतिशत लाभांश दिने

शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११ प्रतिशत नगद गरी कुल १५ प्रतिशतका दरले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।