सिटिजन लाइफका बीमितले अधिकतम ७७ रुपैयाँसम्म बोनस पाउने

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७९–८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट मङ्सिर १५ गते स्वीकृत भएको थियो । प्राधिकरणबाट मंसिर १५ गते नयाँ बोनसदर स्वीकृत भएपछि कम्पनी नयाँ बोनसदर सार्वजनिक गरेको हो । जसअनुसार सिटिजन लाइफले बीमितलाई अधिकतम ७७ रुपैयाँसम्म बोनस दिने भएको छ । यससँगै सिटिजन लाइफ उक्त आव २०७९–८० बाट पोलिसी बोनसदर घोषणा गर्ने पहिलो बनेको छ ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक (रेगुलर) बीमालेखमा प्रति वर्ष प्रति हजार न्यूनतम ४४ देखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन् । यस बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४४ रुपैयाँ, १५ देखि १९ वर्षको लागि प्रति हजार ४९ रुपैयाँ, २० देखि २४ वर्षको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिमा सर्वाधिक ७१७ वटा बीमालेख बिक्री गरेको छ ।

यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा प्रति वर्ष प्रति हजार २५ देखि अधिकतम २८ रुपैयाँसम्म बोनस तोकिएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार २५ रुपैयाँ, १० देखि १४ वर्षको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ र २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार २८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले २० वर्ष वा सो अवधिभन्दा माथिको अवधिको बीमालेख सबैभन्दा धेरै ९५ हजार ४६ वटा बिक्री गरेको छ । अग्रिम भुक्तानी बीमा पोलिसीमा बीमाङ्क रकम अग्रिम रुपमा फिर्ता भइसकेको हुने हुँदा बोनस दर कम भएको हो ।

त्यस्तै, सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा अवधी अनुसार प्रति वर्ष प्रति हजार न्यूनतम ३५ देखि ७५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ । यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर तोकेको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ । कम्पनीले यस बीमालेख अन्तरगत १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै ३८ हजार ३५३ वटा बिक्री गरेको छ ।

यसैगरी सावधिक (रेगुलर) बीमालेखमा प्रति वर्ष प्रति हजार न्यूनतम ३८ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस कायम भएको छ । जस अन्तरगत कम्पनीले ० देखि ९ वर्ष अवधिसम्म अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षको लागि प्रति हजार ४२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिकोसबैभन्दा धेरै १ हजार १५७ वटा बीमालेख बिक्री गरेको छ ।

आर्थिक वर्ष २०७९–८० का लागि सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत प्रति वर्ष प्रति हजार न्यूनतम ४४ देखि अधिकतम ६७ रुपैयाँसम्म बोनसदर सार्वजनिक भएको छ । बाल भबिष्य योजना सावधिक बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६७ रुपैयाँ बोनसदर कम्पनीले तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको सबैभन्दा धेरै ११ हजार ७०० बीमालेख बिक्री गरेको छ ।

साथै कम्पनीले सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा प्रति वर्ष प्रति हजार न्यूनतम ३७ देखि ७७ रुपैयाँसम्म बोनस दर तोकिएको छ । सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । यस योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिका लागि सबैभन्दा धेरै ८ हजार ४६ वटा बीमालेख बिक्री गरेको छ ।

जीवन बीमक संघका अध्यक्ष समेत रहेका पोषकराज पौडेल प्रमुख कार्यकारी अधिकृत रहेको सिटिजन लाइफ इन्स्योरेन्सले बीमातहरुलाई उत्कृष्ट बोनसदर तोकेको छ । कुशल व्यवस्थापन, बीमितमैत्री रणनीति तथा योजनाका कारण कम्पनीले स्थापनाको छोटो अवधिमा नै पुराना कम्पनी सरह बोनसदर घोषणा गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।