हिमालयन रि इन्स्योरेन्सको आईपीओमा ३४ हजार आवेदकबाट १.५३ गुणा आवेदन, कति पाउलान् सेयर ?

0
Shares

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओमा) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मागको तुलनामा १.५३ गुणा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा ३४ हजार २११ जना नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुबाट आवेदन परेको हो । उक्त सङ्ख्याबाट ९४ करोड ४४ लाख ७० हजार ८६० रुपैयाँ बराबरको ४५ लाख ८४ हजार ८१० कित्ताको माग परेको छ । जुन मागको तुलनामा १.५३ गुणा हो ।

कम्पनीले जारी गरेको सेयर खरिदका लागि परेको आवेदन संख्या र बिक्री खुला भएको सेयर सङ्ख्याका आधारमा औसतमा ८७.६९ कित्ता हुन आउँछ । यस आधारमा हिमालयन रिको सेयरमा आवेदन दिनेले कम्तिमा ८७ कित्ता प्राप्त गर्ने देखिन्छ । न्यून संख्यामा आवेदन दिने सङ्ख्या धेरै भएको खण्डमा उल्लेखित संख्याभन्दा धेरै माग गर्नेले पनि माग अनुसारको सेयर पाउनेछन् ।

कम्पनीले मंङ्सिर ४ देखि १८ गतेसम्म पहिलो चरणमा सर्वासाधरणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने ३० लाख कित्ता सेयर बिक्री खुला भएको थियो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ३० लाख कित्ता बिक्री खुला गरेको हो । यस्तै कम्पनीले कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।