विकास हाइड्रोपावरले साढे ४४ करोडको आईपीओ ल्याउने, बोर्डसँग माग्यो अनुमति

0
Shares

विकास हाइड्रोपावर लिमिटेडले ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा ल्याउने भएको छ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर बिक्री गर्न पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डसँग मङ्सिर १९ गते मंगलबार आवेदन दिएको हो । बोर्डबाट आईपीओ बिक्री गर्न अनुमति पाएपछि कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई उक्त सेयर बिक्रीमा ल्याउनेछ ।

विकास हाइड्रोपावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड कमलादी रहेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले गोरखाको धार्चे गाउँपालिकामा ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजना निमार्ण गरेको छ । गैरआवासीय नेपालीहरूको लगानी रहेको आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ फागुन १५ गते भर्चुअल रूपमा टरबाईन सञ्चालन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेका थिए ।

गोरखा जिल्लाको उत्तरी भू–भागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बूढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा आयोजनाको निर्माण सकिएको हो । आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी छ भने राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी छ ।आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौतामा २०८० साल असार ३० गते विद्युत उत्पादन सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, ६ महिना अगावै सम्पूर्ण निर्माण कार्य पूरा गरेर उत्पादन सुरु गरेको छ ।

नेपालमा जलविद्युतको विकास गर्ने उद्देश्यले २०७३ सालमा कम्पनी ऐन अन्तर्गत विकास हाइड्रोपावर कम्पनी लिमिटेडको स्थापना भएको हो । काठमाडौं जिल्लाको महाराजगञ्जमा कार्यालय रहेको कम्पनी २०७८ माघ १४ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । कम्पनीको मुख्य उद्देश्य जलविद्युत् उत्पादन, प्रसारण र वितरण हो ।  रन अफ रिभर प्रकृतिको यस आयोजनामा खगेन्द्र न्यौपानेको नेतृत्वमा बलियो टोलीसहितको टोली छ । यसले वार्षिक ३१.१५ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ जसमा सुख्खा याममा १२.०५ गिगावाट घन्टा र वर्षायाममा १९.१० गिगावाट ऊर्जा उत्पादन गर्छ ।

माछादोभानमा रहेको आयोजनाको पावर हाउस पुग्न आरुघाट बजारबाट सडक मार्गबाट करिब ४० किलोमिटर टाढा छ । पावर हाउसबाट उत्पादित बिजुली करिब २५ किलोमिटर पर रहेको ३३ केभीको बसेरी सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।