सेयर बजार ३७ अंकले बढ्यो, एघार कम्पनीको मूल्य ९% धेरै बढ्दा लगानीकर्तामा उत्साह

0
Shares

साताको तेस्रो दिन मंगलबार सेयर बजारमा ३६.८६ अंकको उछाल आएको छ । आइतबार नेप्सेमा सर्किट लागेर ९ मिनेट कारोबारपछि बन्दभएको सेयर बजारमा सोमबार १५.४० अंकको करेक्शन आएाको थियो ।

मंगलबारको ३६.८६ अंकको वृद्धिपछि नेप्से परिसूचक १९८५ दशमलव ४४ बिन्दुमा पुगेको छ । यसदिन सूचीकृत २९७ स्क्रिप्टको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर ९५ हजार ४३३ वटा सङ्ख्यामा खरिद बिक्री हुँदा कारोबार ४ अर्ब ३० करोड ९०ालख १९ हजार १९६ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा अघिल्लो दिनको तुलनामा दैनिक कारोबार रकम ५४ करोडले घटेको हो ।

आज कारोबारमा आएका सबै उपसमुहगत परिसूचकहरुमा हरियाली छाएको छ । होटल तथा पर्यटनमुलक सर्वाधिक ४.३३प्रतिशतले बढेको छ भने जलविद्युत ३.३० प्रतिशत, फाइनान्स ३.२३ र जीवन बीमा ३.०५ प्रतिशतले बढेको छ । यसैगरी अन्य, उत्पादन तथा प्रशोधनमुलक, निर्जीवन बीमा, ब्यापार र लगानी पनि २ प्रतिशतभन्दा बढीले बढेका छन् । आज कारोबारमा आएकामध्ये २४६ कम्पनीको सेयर मुल्य बढेको छ भने ४३ कम्पनीको घटेको छ । ८ कम्पनीको स्थीर छ ।

शिवम सिमेन्ट र सोनापुर मिनरल्स आयलको सेयरमा मंगलबारलगानीकर्ता झुम्मिएका छन् । शिवमको १८ करोड ७ लाख ११ हजार र सोनापुर मिनरल्स १५ करोड १० लाख २९ हजार रुपैयाँको सेयर कारोबार भयो । यस्तै रिलायबल नेपाल लाइफको १४ करोड ३५ लाख ७८ हजार रुपैयाँ , माउन्टेन इनर्जी लिमिटेडको ११ करोड ९७ लाख ६३ हजार रुपैयाँ, सोल्टी होटलको ११ करोड ८१ लाख ८६ हजार रुपैयाँ, सिटिजन लाइफको ११ करोड ४ लाख १५ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २७ लाख ३७ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको ९ करोड २५ लाख ९४ हजार रुपैयाँ, सन नेपाल लाइफको ८ करोड ९७ लाख १७ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ८ करोड २२ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ।

मंगलबारको बजारमा बोटलर्स नेपाल (बालाजू) लिमिटेड, धौलागिरी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एण्ड आयल, सानिमा लार्ज क्याप फन्ड, मानुषी लघुवित्त, त्रिशुली जलविद्युत कम्पनी र दोल्ती पावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, साधना लघुवित्त र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका छन् । यस्तै सिंगटी हाइड्रोपावरको ४.७३ प्रतिशत, छिमेक लघुवित्त ३.८५ प्रतिशत, गणपति लघुवित्त ३.६१ प्रतिशत र प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले ३.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

मंगलबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब २ करोड १९ लाख रुपैयाँमा समेटिएको छ । सोमबारको गिरावटपछि समग्र बजार पुँजीकरण ३० खर्ब ४ अर्ब ५० करोड ५३ लाख रुपैयाँ थियो । सोमबारको तुलनामा बजार पुँजीकरण ५६ अर्ब ५१ करोड ६६ लाख रुपैयाँले बढेको हो । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।