मूल्यवृद्धि दर बढ्दै जाँदा घट्दै छ नेपालको जीडिपि

0
Shares

नेपालमा मुल्यवृद्धि नियन्त्रणमा नआउँदा त्यसको प्रभाव कुल ग्राहस्थ उत्पादनमा समेत पर्ने देखिएको छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकको संयुक्त प्रयास महंगी नियन्त्रणमा प्रभावकारी नदेखिएको एशियाली विकास बैंकले प्रकाशन गरेको तथ्यबाट पुष्टि हुन्छ ।

एशियाली विकास बैंकले ‘एशियन डेभलपमेन्ट आउटलुक’ को डिसेम्बर अंक सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडिपी) वृद्धि दर १.९ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ । यसअघि अप्रिल महिनामा बैंकले सन् २०२३ मा नेपालले ४.१ प्रतिशतको वृद्धि दर हासिल गर्ने अनुमान गरेको थियो ।

नेपालमा पछिल्लो समयमा देखिएको आर्थिक मन्दी, निर्माण कार्यमा भएको ढिलासुस्ती र आकाशिदै गएको मुद्रास्फीतिका कारण नेपालको वृद्धि दर १.९ प्रतिशतमा खुम्चिने एशियाली विकास बैंकको प्रक्षेपण छ । अप्रिल महिनमा नेपालको मुद्रास्फीति दर ७.४ प्रतिशत थियो भने सेप्टेम्बर महिनामा बढेर ७.७ प्रतिशत पुगेको छ ।

यस्तै सन् २०२४ मा नेपालले ४.३ प्रतिशतको वृद्धि दर हासिल गर्ने र मुद्रास्फीति ७.७ प्रतिशतबाट घटेर ६.२ प्रतिशतमा आउने उक्त प्रतिवेदनमा उल्लेख छ । दक्षिण एशियाली मुलुकहरुमा सबैभन्दा धेरै वृद्धि दर माल्दिभ्सले हासिल गर्ने बैंकको अनुमान छ । यस्तै श्रीलंकाको अर्थतन्त्र ३ प्रतिशत ऋणात्मक रहने समेत प्रतिवेदनमा प्रस्तुत छ ।

सन् २०२३ मा माल्दिभ्सले सर्वाधिक ७.१ प्रतिशत, भारतले ६.३ प्रतिशत, बाङ्लादेशले ६ प्रतिशत, भुटानले ४.३ प्रतिशत, नेपालले १.९ प्रतिशत र पाकिस्तानले ०.३ प्रतिशत वृद्धि हासिल गर्ने उल्लेख गरिएको छ ।

दोस्रो ठूलो अर्थतन्त्र–चीनले सन् २०२३ मा ४.९ प्रतिशत र सन् २०२४ मा ४.५ प्रतिशतको वृद्धि दर हासिल गर्ने एशियाली विकास बैंकको प्रक्षेपण छ ।

सन् २०२३ मा विकासशील एशियाली राष्ट्रहरुले ४.७ प्रतिशतको वृद्धि दर हासिल गर्ने र चीन बाहिरका विकासशील राष्ट्रहरुको वृद्धि दर ४.५ प्रतिशत रहने प्रतिवेदनमा छ ।

पुर्वी एशियाली राष्ट्रहरुको वृद्धि दर ४.४ प्रतिशत, दक्षिण एशियाली राष्ट्रहरुको वृद्धि दर ५.४ प्रतिशत, दक्षिणपूर्वी एशियाली राष्ट्रहरुको वृद्धि दर ४.६ प्रतिशत, प्यासिफिक क्षेत्रको वृद्धिदर ३.५ प्रतिशत रहने एशियाली विकास बैंकको अनुमान छ ।

विश्वव्यापी अर्थतन्त्र संकटोन्मुख भएको समयमा एशियाली राष्ट्रहरुको वृद्धि दर बलियो रहेको एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले बताएका छन् । यसका साथै जलवायु परिवर्तनले सिर्जना गरेको इलनीनो प्रभावका कारण खाद्यान्न उत्पादनमा कमी हुँदा विश्वव्यापी रुपमा महंगी बढाएको तथ्य केलाउँदै उनले एशियाली तथा प्यासिफिक क्षेत्रका राष्ट्रहरुले एकसाथ यस समस्याको समाधानमा जुट्न आग्रह गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।