फरर्वाड लघुवित्तको सेयर कारोबार रोक्का, लाभांश नदिने

0
Shares

फरर्वाड लघुवित्त वित्तीय संस्था लिमिटेडको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ। लघुवित्तले बुधबार साँझ सञ्चालक समितिको बैठक बसी लाभांश वितरण नगर्ने निर्णय गरेपनि बिहीबार कार्यालय समयअघि उक्त सूचना जानकारी नदिएपछि नेप्सेले स्पष्टिकरण सोध्दै लघुवित्तको सेयर कारोबार रोक्का राखेको हो ।

नेप्सेले बिहीबार नै धितोपत्र सूचीकरण विनियमावली बमोजिम लघुवित्तको धितोपत्रको सूचीकरण स्थगन गरी तीन कार्यदिन भित्र के कति कारणबाट लाभांश सम्बन्धी निर्णय समयमा नै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
लघुवित्तले मंङ्सिर २७ गते बुधबार सञ्चालक समितिको बैठक बसी गत आर्थिक वर्षको लाभांश घोषणा सम्बन्धी निर्णय गरेको तर सोको जानकारी नेप्सेमा अर्को २८ गते बिहीबार दिउँसो १२ः४६ बजे कारोबार समयमा प्राप्त भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियममा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । लघुवित्तले उक्त विनियममा भएको व्यवस्था पालना नगरेपछि कम्पनीको धितोपत्रको कारोबार स्थगन गरि स्पष्टिकरण सोधेको हो ।

मङ्सिर २७ गते अपरान्ह ७ः०० बजे बसेको १४२ औं बैठकले आर्थिक वर्ष २०७९–८० को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको कम्पनी सचिव कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

साथै बैठकले नेपाल राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन सहित स्वीकृति प्राप्त भएमा सो समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित र स्वीकृतीका पेश गर्ने निर्णय भएको छ । वित्तीय संस्थाको २०८० असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु तथा नीति तथा टिप्पणीहरुमाथि छलफल भई स्वीकृत गर्ने निर्णय गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।