शोधनान्तर स्थिति डेढ खर्ब र चालु खाता १ खर्ब बचतमा, विदेशी मुद्रा सञ्चिति १७ खर्ब

0
Shares

चालुु आर्थिक वर्षको चार महिनामा मुलुकको बाह्य क्षेत्रमा उल्लेखीय सुधार भएको छ । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति करिब डेढ खर्ब तथा चालु खाता करिब एक खर्ब बचतमा रहदा विदेशी विदेशी मुद्रा सञ्चिति झण्डै १७ खर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्याङ्क अनुसार शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ ।

विदेशी मुद्रा सञ्चिति १७ खर्ब पुग्यो

विदेशी मुद्राको सञ्चिति बढेर १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत कात्तिकसम्म विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो ।

गत असारसम्म विदेशी मुद्रा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्ष २०८०/८१को ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशत बढेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा ८.९ प्रतिशत बढेर १२ अर्ब ७५ करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलर ११ अर्ब ७१ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा असारसम्म १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा १०.८ प्रतिशत बढेर कात्तिकमा १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेका छ । सातै, बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति ६.४ प्रतिशत बढेर २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत असारसम्म भने १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशस् ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमश: २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।