मूल्यवृद्धि नियन्त्रणका प्रयास सफल हुँदै, मुद्रास्फीति दर ५.३८% मा झर्यो

0
Shares

चालु आर्थिक वर्षको कात्तिकमा उपभोक्ता मूल्यवृद्धि दर ५.३८ प्रतिशतमा झरेको छ। भदौमा ८.१९ प्रतिशत रहेको मूल्यवृद्धि दर कात्तिक महिनामा २.८१ प्रतिशत विन्दुले घटेको हो । असोजमा मूल्यवृद्धि दर ७.५० प्रतिशत रहेको थियो। यससँगै सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि गरेको प्रयास सफल भएको संकेत पाइएको छ ।

कात्तिकमा खाद्य तथा पिय पदार्थको मूल्यवृद्धि दर ६.०१ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति दर ४.८९ प्रतिशत कायम छ । खाद्य तथा गैरखाद्य वस्तुको मूल्यवृद्धिमा भएको नियन्त्रणका कारण कात्तिकमा उपभोक्ता मूल्यवृद्धि सूचांक नियन्त्रणमा आएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको समीक्षा अवधिमा चिनी तथा चिनीबाट उत्पादन गरिएका वस्तुहरुको मूल्य १४.५९ प्रतिशतले बढेको छ । यस्तै मरमसलाको उपसमूहको मूल्य ३६.४६ प्रतिशत, फलफुलको मूल्य १४.०१ प्रतिशत, सिरियल ग्रेनको १२.०२ प्रतिशत, दुग्ध जन्य वस्तुको ११ प्रतिशतले बढेको छ । तथापि घिउ र तरकारीको मूल्यमा गिरावट आएको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिको उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ५.२७ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशतले बढेको छ ।

हिमाली क्षेत्रमा सर्वाधिक मूल्यवृद्धि

कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर हिमाल क्षेत्रको उच्च रहेको छ । हिमाली क्षेत्रको मुद्रास्फीति दर सर्वाधिक ८.७९ प्रतिशत रहेको छ भने काठमाडौं उपत्यकाको ६ प्रतिशत, तराईको ४.४२ प्रतिशत र पहाडी क्षेत्रको ६.०७ प्रतिशत रहेको छ । भदौ महिनाको तुलनामा सबै क्षेत्रमा मूल्यवृद्धि नियन्त्रणमा आएको हो । भदौमा हिमाली क्षेत्रको मूल्यवृद्धि दर ११.३२ प्रतिशत, पहाडको ८.०९ प्रतिशत, काठमाडौँ उपत्यकाको ९.८३ प्रतिशत र तराईको ७.०३ प्रतिशत थियो।

कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस किसिमको मुद्रास्फीति १०.०२ प्रतिशत थियो । यसै महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः २.६३ प्रतिशत, १.७१ प्रतिशत र २.६७ प्रतिशत रहेको छ । यस महिनामा निर्माण सामाग्रीको मुद्रास्फीति दर १.०५ प्रतिशत कायम रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।