नेपाल फाइनान्सले पुस २० गते बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

0
Shares

नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० बाट लाभांश वितरण नगर्ने भएको छ ।

फाइनान्सको मङ्सिर २८ गते बिहीबार बिहान ११ बजे बसेको सञ्चालक समितिको ३७८ औं बैठकको निर्णयानुसार संस्थाको ३१ औं वार्षिक साधारण सभा आगामी पुस २० आह्वान गरिने भएको हो । सभा पुस २० गते होटल एल्लो प्यागोडा, कान्तिपथ काठमाण्डौमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा नेपाल फाइनान्स र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा संस्थाको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने विशेष प्रस्ताव रहेको छ । यस्तै सभाले गाभ्ने–गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगायतका गाभ्ने गाभिने तथा एक्विजिशन गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न संञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

साथै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने समग्र वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको आव २०७९–८० को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणको छलफल गरी पारित गर्ने र आव २०८०–८१ को लेखापरीक्षण गर्न लेखापरिक्षण समितिको सिफारिस अनुसार लेखापरिक्षकको रुपमा वर्तमान लेखापरिक्षक एस.ए.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

फाइनान्सले साधारण सभा प्रयोजनका लागि संस्थाको २०८० पुस ६ गते एक दिनको लागि सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार पुस ५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

फाइनान्सका लगानीकर्ताले आर्थिक वर्ष २०६७/६८ देखि बाह्र वर्षसम्म लाभांश पाउन सकेका छैनन् । आर्थिक वर्ष २०६७/६८ बाट कम्पनीले चुक्ता पुँजीको २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।