दक्षिण एशियाली राष्ट्रहरुले प्राप्त गर्ने कुल रेमिट्यान्सको ६६% हिस्सा भारतको

0
Shares

सन् २०२३ मा रेमिट्यान्स भित्र्याउने दक्षिण एशियाली राष्ट्रहरुको शीर्ष स्थानमा भारत रहेको छ । भारतले यस वर्ष १ खर्ब २५ अर्ब अमेरिकी डलर रेमिट्यान्सका रुपमा प्राप्त गरेको छ ।

दक्षिण एशियाली राष्ट्रहरुले प्राप्त गर्ने कुल रेमिट्यान्सको ६६ प्रतिशत हिस्सा भारतले ओगटेको छ । सन् २०२२ मा भारतले १ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको थियो । जुन दक्षिण एशियाली राष्ट्रहरुले प्राप्त गर्ने कुल रेमिट्यान्सकोे ६३ प्रतिशत हिस्सा हो ।

करिब १ अर्ब ५० करोड मानिसहरुले बसोबास गर्ने भारतमा समेत प्रतिभा पलायनको समस्या बढ्दो छ । दक्ष जनशक्ति अमेरिका, बेलायत, सिंगापुर लगायतका देशमा बसोबास गर्ने क्रम बढेको छ भने अदक्ष तथा अर्धदक्ष मानिसहरु खाडी मुलुक जाने गरेका छन् । सोही कारण भारतले प्राप्तगर्ने रेमिट्यान्स वार्षिक रुपमा बढ्दै गएको हो ।

रेमिट्यान्स प्राप्तगर्ने दोस्रो ठूलो दक्षिण एशियाली राष्ट्र पाकिस्तान हो । सन् २०२३ मा पाकिस्तानले २४ अर्ब डलर रेमिट्यान्स भित्र्याएको छ । यस्तै सन् २०२३ मा बाङ्लादेशमा २३ अर्ब, नेपालमा ११ अर्ब, श्रीलंकामा ५ अर्ब ४० करोड, अफ्गानिस्तानमा ३० करोड र भुटानमा १० करोड अमेरिकी डलर विप्रेषण प्रवाहभएको छ । दक्षिण एशियाली राष्ट्र मध्ये माल्दिभ्सले सबैभन्दा न्यून शून्य प्रतिशत रेमिट्यान्स प्राप्त गरेको छ ।

सन् २०२३ मा दक्षिण एशियाली राष्ट्रहरुले १ खर्ब ८९ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउने आकलन विश्व बैंकले गरेको छ । सन् २०२२ मा दक्षिण एशियाली राष्ट्रहरुमा प्रवाह हुने रेमिट्यान्स १२.२ प्रतिशतले बढेको थियो । तर सन् २०२३ मा रेमिट्यान्सको सङ्ख्या ७.२ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण रहेको छ ।

विश्वका विकसित राष्ट्रहरुमा मूल्यवृद्धि आकाशिएका कारण कम्पनीहरुले रोजगार कटौती गर्ने तथा कर्मचारी सङ्ख्या घटाउने क्रम बढ्दै गएको छ । यसको प्रभाव आइटी क्षेत्रका कम्पनीहरुमा बढ्दो छ । कम्पनीहरुले कर्मचारी कटौती गर्ने क्रमय थावत् नै रहेकाले सन् २०२३ मा विप्रेषणको आकार पनि घटेको छ ।

यस्तै साउदी अरेबिया, कुवेत लगायतका कच्चा तेल उत्पादक राष्ट्रहरुले तेल उत्पादन कटौती गरेका कारण ती क्षेत्रमा कामगर्ने मानिसहरु बेरोजगार भएका छन् । यसरी सन् २०२३ मा विप्रेषण सङ्ख्या घटेको छ । तथापि मूल्य वृद्धि नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले आक्रामक शैलीमा ब्याजदर बढाउँदा डलरको बलियो भएको थियो । यसरी सङ्ख्यामा कमी आएता पनि विप्रेषणबाट प्राप्त मूल्य बढेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।