रोक्का भएको पाँच महिनापछि प्रभु महालक्ष्मीको सेयर मंगलबारदेखि खुल्दै

0
Shares

मर्जरका कारण रोक्का भएको पाँच महिनापछि प्रभु महालक्ष्मी लाइफको सेयर पुस ३ गते मंगलबारदेखि नेप्सेमा कारोबारमा आउने भएको छ ।

सोमबार प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकरण भएसँगै मंगलबारदेखि कम्पनीको दोस्रो बजारमा सेयर कारोबार सुरु हुने भएको हो ।

धितोपत्र बोर्डले ल्याएको मर्जर विनियमावली अनुसार एकीकृत कारोबारको १५ दिनपछि सेयर कारोबार हुनुपर्ने व्यवस्था रहेपनि कम्पनीले उक्त विनियमावलीलाई समेत पालना नगरी पाँच महीनापछि मात्रै सेयर सूचीकरण गरी कारोबार खुला गरेको हो ।

साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका हुन्। मर्जर प्रक्रिया पूरा गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको सेयर कारोबार रोक्का गरेको थियो । महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन ।

प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । सेयर रोक्का हुनअघि गत असार २८ गते प्रभु लाइफको सेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम पटक कारोबार भएको थियो ।

मंगलबार कम्पनीको धितोपत्र यहि मूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । दोस्रो बजारमा कम्पनीको सेयर पीएमएलआई (PMLI) संकेतमा खुल्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।