सेयर बजार २१ सय विन्दु माथि उक्लियो, बजार वृद्धिमा कारोबार रकमको बलियो साथ


पछिल्ला केही दिनदेखि तिब्र अंकको सुधार देखिएको बजारमा मंगलबार पनि ४५.९८ अंकको सुधार आएको छ । मौद्रिक नीतिको समीक्षापछि निरन्तर उकालो लागेको बजार बैंक व्याजदर घट्नु अनि तरलताको अवस्थाले झनै टेवा सहित उकालो लागेको हो ।

मंगलबारको वृद्धिसँगै बजार परिसुचक नेप्से २१०६.४८ अंकमा उक्लिएको हो । बजारको ठुलो हिस्सा ओगटेको बैंकिङ समुहमा आएको सुधारले बजारको वृद्धि तिब्र भएको हो । यस दौरान मंगलबार बैंकिङ उपसमुहमा २९.८९ अंकको सुधार आएको आएको छ ।

होटल र पर्यटन समुहमा सबैभन्दा धेरै अर्थात ३९५.१८ अंकको सुधार आएको बजारमा जीवन बीमा कम्पनीहरुमा ३५०.५५, उत्पादनमा २५३.६६, निर्जीवन बीमामा २२८.०६ अंकको सुधार आएको छ । लघुवित्त समुहमा ५८.७२ अंकले सुधार आएको बजारमा विकास बैंकमा ५७.४७, व्यापारमा २९.३०, जलविद्युतमा १८.९७, अन्यमा १४.२८ र वित्त समुहमा ७.८२ अंकको सुधार आएको छ ।

प्रतिशतका आधारमा होटल तथा पर्यटन उपसमूहको ६.९४ प्रतिशत, उत्पादक मूलक उपसमूहको ४.७४ प्रतिशत, जीवन बीमा उपसमूहको परिसूचक ३.१२ प्रतिशत, बैंकिङ सूचांक २.४६ प्रतिशत, लगानी उपसमूहको परिसूचक २.४३ प्रतिशत, र्निजीवन बीमा परिसूचक २.०६ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्सको १.५६ प्रतिशत, म्युचुअल फन्ड १.४४ प्रतिशत, विकास बैंक १.३९ प्रतिशत र व्यापार समुहमा १.०२ प्रतिशतको सुधार आएको छ । सेयरबजार दिनानुदिन उकालो लागिरहेको समयमा मंगलबार उपसमूह परिसूचकहरु अन्तर्गतका सबै सूचक बढेका छन् । अन्य उपसमूहको परिसूचक ०.९१ प्रतिशत, जलविद्युतको परिसूचक ०.८१ प्रतिशत र फाइनान्सको परिसूचक ०.४२ प्रतिशतले बढेको हो ।

बजारमा आएको वृद्धिका कारण सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट फराकिलो अंकले उकालो लागेका छन् । मंगलबार सेयर बजारमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार कम भने ८८ करोडले घटेको हो । सोमबार ६ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

सामुहिक लगानी कोष सहित ७७ कम्पनीको सेयर मूल्य घटेको बजारमा २१३ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आउन नसकेको बोटलर्स नेपाल बलाजुको सेयर मूल्य पछिल्ला केही दिनदेखि निरन्तर १० प्रतिशतले बढिरहेकोमा मंगलबार पनि यसले निरन्तरता पाएको छ । मेरो माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, शिवम सिमेन्ट्स, नेपाल रिपब्लिक मिडिया लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रोपावर र सोना मिनिरल्स एन्ड आयलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी विपिडब्लु लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

सामुहिक लगानी कोष बाहेक मंगलबार कारोबारमा आएका कुल २४३ कम्पनी मध्ये १८३ कम्पनीको सेयरमूल्य बढेको छ भने ५३ कम्पनीहरुको मूल्य घट्दा ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को इकाईमूल्य सर्वाधिक ७.२६ प्रतिशतले घटेको बजारमा माथिल्लो मैलुङ खोला जलविद्युतको ४.९० प्रतिशत, ८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७ को ३.८३ प्रतिशत, ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को ३.७८ प्रतिशत र पिपुल्स पावरको ३.१९ प्रतिशतले सेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ । आज शिवम् सिमेन्ट्सको ३७ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको छ । यस्तै सोल्टी होटलको २८ करोड ७३ लाख, सोनापुर मिनिरल्स एन्ड आयलको १६ करोड ७१ लाख, हाथवे इन्भेष्टमेन्टको १४ करोड २९लाख र घोराही सिमेन्टको १३ करोड ३० लाख बढीको सेयर कारोबार भएको छ ।

समुहगत रुपमा पालो गर्दै बजार बढेको देखिएको छ । यसले आगामी दिनमा बजारलाई थप टेवा पुग्ने अपेक्षा लगानीकर्ताको छ । लामो समयदेखि लगानी फसाएका लगानीकर्ताहरुको मनोबल सकरात्मक भएका कारण पनि बजारलाई उकालो लाग्न टेवा पुगेको हो । बजारको वृद्धिसँगै सेयरको बिक्री चाप नआउँदा एक पछि अर्को गर्दै सेयर मूल्य उकालो लागिरहेको छ । यसले बजारलाई झनै टेवा प्रदान गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।