दोस्रो बजारमा ७ दिनसम्म खरिदकर्तामा उत्साह, बुधबार ३५ अंकले बढ्यो नेप्से

0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत नरम नीति अबलम्बन गरेसँगै पुँजी बजारमा लगानीकर्ताको उत्साह कायमै रहेको छ । समीक्षापछि मंसिर २४ गते आइतबार ९ मिनेटमा नै नेप्सेमा सर्किट लागेको बजार त्यसपछि सोमबार १५ अंकले करेक्शन आएकोमा त्यससताका कारोबार दिनहरुमा भने लगानीकर्ताको अभूतपूर्व आकर्षण देखिएको हो ।

बजारमा उत्पादन तथा प्रशोधनमुलक, लगानी र व्यापार क्षेत्रका कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण बढ्दा उक्त समुहसँगै समग्र नेप्से १.६८ प्रतिशतले बढेको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले बढेर ४०२.६३ बिन्दुमा पुगेको छ । एकपछि अर्को सेक्टरका सेयरमा लगानीकर्ताको प्रवेश तथा ‘इन्ट्रा डे करेक्शन’ ले बजारलाई अगाडि बढ्न थप सहयोग पुगेको छ ।

पछिल्लो ७ कारोबार दिनमा बजार सूचक नेप्से १९३.२७ अंकले बढेर २१४१.८७ बिन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका होटल तथा पर्यटनमुलक र निर्जीवन बीमाको इन्डेक्स बाहेक सबैमा हरियाली छाएको छ । कारोबारमा आएका ३०६ स्क्रिप्टमध्ये १९४ कम्पनीको मूल्य बढेको छ भने ९९ वटाको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । आज कारोबारमा आएका १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थप १५ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।

बैंकिङ्ग प्रणालीमा थपिँदै गएको निक्षेप र सो अनुसार कर्जा प्रवाह नबढ्दा बैंकहरुले ऋणीहरुलाई कम प्रिमियममा नै कर्जा अफर गरेका छन् । त्यसमा पनि सेयर धितोकर्जा प्रवाह गर्न सहज हुने भएकाले पनि यस क्षेत्रमा समेत बैंकबाट कर्जा लगानी बढेको छ । यसले पनि बजार वृद्धिमा थप टेवा मिलेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत ५० लाखभन्दा माथिको मार्जिन प्रकृतिको कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेपछि ठूला लगानीकर्तालाई यसले राहत मिलेको छ ।

आज उत्पादन तथा प्रशोधनमुलक उपसमुहगत इन्डेक्स सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ भने लगानी ६.९२ र व्यापारको ६.२० प्रतिशतले बढेको छ । जलविद्युत १.९१ प्रतिशत र जीवन बीमाको २ प्रतिशतले वृद्धि भएको छ । बाँकी एक प्रतिशतभन्दा कम बढेका छन् ।
यसदिन शिवम् सिमेन्टस्को सर्वाधिक ३७ करोड ३४ लाख ९७ हजार रुपैयाँको ५ लाख ९९ हजार ८९० कित्ता सेयर खरिद बिक्री भएको छ । यस्तै सोल्टी होटलको २४ करोड ५३ लाख ७७ हजार, सोनापुर मिनिरल्स एण्ड आयल कम्पनी लिमिटेडको २० करोड १५ लाख २४हजार रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख २३ हजार र नेपाल इन्फ्रास्टक्चर बैंकको १७ करोड ५४ लाख ८३ हजार रुपैयाँको धितोपत्र किनबेच भएको छ ।

यसदिन बोटलर्स नेपाल (बालाजु) लिमिटेड, हिमालयन डिष्टिलरी, फरवार्ड लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, लिवटी इनर्जी लिमिटेड, युनाइटेड इदिमादीएण्ड आरबि हाइड्रोपावर, बलेफी हाइड्रोपावर, विपिडब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया लिमिटेड, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनिरल्स एण्ड आयल, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बढेको हो । यस्तै सपोर्ट लघुवित्त, निफ्रा, ग्रीन लाइफ हाइड्रोपावर, उन्नति सहाकर्य लघुवित्त, युनिलिभर नेपाल, माउन्टेन इनर्जी नेपाल र यूनियन हाइड्रोपावरको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेर कारोबार बन्द भएको छ ।

यता कुमारी धनवृद्धि योजनाको इकाईमूल्य सर्वाधिक ३.८२ प्रतिशत, नेरुडे लघुवित्तको ३.६५, माथिल्लो मैलुङ्गखोला जलविद्युत कम्पनीको ३.६४, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको ३.४५, तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ३.३९ प्रतिशत, गणपति माइक्रोफाइनान्सको ३.३५ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.२४ र मोलुङ्ग हाइड्रोपावरको ३.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३३ खर्ब १६ अर्ब ४९ करोड ६९ लाख ४ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबार बजार पुँजीकरण ३२ खर्ब ६१ अर्ब ६९ करोड १५ लाख रुपैयाँ थियो । बुधबार मात्रै बजार पुँजीकरण ५४ अर्ब ८० करोड ५४ लाख रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।