निफ्रा र चिलिमे जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । निफ्राले साधारण सभा प्रयोजनको लागि  शुक्रबार बुक क्लोज गर्दैछ  । जसअनुसार आज बिहीबारसम्म कायम सेयरधनी मात्र लाभांश वितरणमा भाग लिन पाउने छन् ।

चिलिमे जलविद्युतले साधारण सभा प्रयोजनको लागि आइतबार पुस ८ गते बुक क्लोज गर्दैछ । शुक्रबार र शनिबार सेयर कारोबार नहुने भएकाले चिलिमे जलविद्युतको लाभांश हात पार्न पनि आजै सेयरधनी बन्नुपर्ने हुन्छ । 

निफ्राले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४.२१०५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्दै छ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाण्डौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८०\८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

यस्तै, चिलिमे जलविद्युत्ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले लाभांश पारित गर्न पुस २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।