ब्याजदर घट्यो, अर्थतन्त्रको जटिलताले कर्जाको माग बढ्न सकेन

0
Shares

बैंकिङ प्रणालीको अल्पकालिन तथा दिर्घकालिन ब्याजदर घटेको भएपनि कर्जाको माग बढ्न सकेको छैन । अर्थतन्त्र मन्दीबाट बाहिर नआइसकेको हुनाले ब्याजदर घट्दा समेत कर्जाको माग बढ्न नसकेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अल्पकालिन ब्याजदरलाई ब्याजदर करिडोर भित्र लैजानका लागि निक्षेप संकलनको ब्याजदर बढाउन परेको अवस्था छ । तर, बैंक वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर पुस महिनाका लागि औसतमा करिब एक प्रतिशत विन्दुले घटाएका छन् । बैंकहरुले ब्याजदर घटाएको अवस्थामा पनि निक्षेप बढ्ने क्रम जारी छ भने कर्जाको मागमा सुधार नआएको बैंकरहरु बताउँछन। कर्जाको मागमा सुधार नआउनु मूख्य कारण भनेको अर्थिक गतिविधि नै विस्तार भएको छैन भने पुराना उद्योगी व्यवसायीहरु पनि पुरानो कर्जाको दबाबबाट बाहिर आएको अवस्था छैन ।

उद्योग व्यवसाय विस्तार गर्न वा नयाँ व्यवसाय सुरु गर्ने बातावरण बनिनसकेको हुनाले पनि कर्जाको माग बढ्न नसकेको बैंकरहरुको तर्क छ । तर, कर्जाको माग नबढ्नुको कारण चालु पुँजी कर्जा मागर्दर्शनका कारणले पनि हो । कर्जा लिएपछि तिर्न नखोज्ने उद्योगी व्यवसायीलाई चालु पुँजी कर्जा मार्गदर्शनले कर्जा भुक्तान गरेपछि मात्र पाइने व्यवस्था गरेपछि पनि कर्जाको माग नबढेको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासीक समीक्षा मार्फत नीतिगत दरहरु घटाई बैंक दर ७, नीतिगत दर ५.५ र निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुले पनि निक्षेपको ब्याजदर करिब एक प्रतिशत विन्दुले घटाएका छन । त्यसैगरी ट्रेजरी बिल्सको डिस्काउन्ट रेट, विकास ऋणपत्रको कट अफ रेट पनि घटेको छ । तर, अन्तर बैंकदर र निक्षेप संकलनको ब्याजदर तरलता व्यवस्थापनको औजार भएकाले दुबै दरलाई बढाउन केन्द्रीय बैंकले प्रयास गरीरहेको छ । सो अनुसार केही सुधार पनि भएको छ । विकास ऋणपत्रको ब्याजदर त यो वर्षकै न्यून ५.५६ प्रतिशतमा झरेको छ।

केन्द्रीय बैंकले अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा(निक्षेप संकलन दर) भन्दा तल आएको खण्डमा निक्षेप संकलन गरेर सीमा भित्र राख्ने काम गर्छ । त्यसका लागि केन्द्रीय बैंकले बैंक वित्तीय संस्थासंग भएको तरलता ब्याज दिएर लिन्छ । बैंकिङ प्रणालीमा तरलता कम भएको अवस्थामा अन्तर बैंक दर बढ्छ भने धेरै भएको अवस्थामा घट्छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन तथा अन्तर बैंक दर बढाउन निक्षेप संकलन गर्दै आएको छ । केन्द्रीय बैंकले बुधबार मात्रै २५ अर्ब निक्षेप संकलन गरेकोमा शुक्रबार पनि सोही आकारको निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन जारी गरेसंगै निक्षेप संकलनको ब्याजदर पनि बढ्दै करिडोरको तल्लो सीमा नजिक अर्थात २.४९ प्रतिशतमा पुगेको छ। अन्तर बैंक ब्याजदर पनि २.७१ प्रतिशतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रको कुल निक्षेप ६० खर्ब २७ रहेको छ भने कुल कर्जा लगानी ५० खर्ब २ अर्ब रहेको छ । मंगलबार मात्रै बैंकिङ प्रणालीमा ५ अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी २ अर्बले मात्र बढेको छ । बैंकहरुले कर्जा लगानी गर्न नसकेको भन्ने कर्जा निक्षेप अनुपातले पनि स्पष्ट हुन्छ । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो कर्जा निक्षेप अनुपात औसतमा ८०.२१ प्रतिशत मात्र रहेको छ । बैंक वित्तीय संस्थाले यसलाइ बढाएर ९० प्रतिशतसम्म पु्रयाउन सक्छन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।