फ्युल पम्पमा समस्या आएपछि होन्डाले विश्वभरबाट फिर्ता बोलायो ४५ लाख कार

0
Shares

जापानी अटोमेकर कम्पनी–होन्डाको अमेरिकन युनिटले कारको फ्युल पम्पमा देखिएको समस्या समाधानका लागि विश्वभरबाट ४५ लाख कारहरु फिर्ता बोलाएको छ।

होन्डाले सन् २०१८ देखि २०२० सम्म उत्पादन भएका विभिन्न मोडलका कारहरु फिर्ता बोलाएको हो । कम्पनीले होन्डा एकर्ड, सिभिक, सीआर–भी, एचआर–भी, रिजलाइन, ओडिसी, पासपोर्ट मोडलका कारहरु र एकुरा मोडलका आइएलएक्स, एमडीएक्स, आरडीएक्स, आरएलएक्स, टीएलएक्स र एनएसएक्स मोडलका कारहरु फिर्ता बोलाएको हो ।

सन् २०१८ देखि हालसम्म फ्युल पम्प फेलियरका कारण कुनै दुर्घटना नघटेपनि यस समस्यालाई लिएर ४ हजार ४२ वटा कम्प्लेन दर्ता भएको होन्डाले जनाएको छ। होन्डाले फ्युल पम्प मोडललाई विस्थापित गरी नयाँ पम्प राख्ने योजना बनाएको छ।

सन् २०२४ को फेब्रुअरी महिनादेखि कम्पनीले कारहरु फिर्ता बोलाउन सुरु गर्नेछ । पहिलो चरणमा अमेरिकामा बिक्री भएका २५ लाख ४० हजार कारहरु फिर्ता बोलाइएको छ ।

यसअघि पनि सन् २०२१ मा फ्युल पम्पकै समस्यालाई लिएर कम्पनीले अमेरिकामा ६ लाख २८ हजार र सन् २०२० मा १ लाख ३६ हजार कारहरु फिर्ता बोलाएको थियो ।

केही समय अगाडि कम्पनीले १ लाख ६ हजार ३० वटा हाइब्रिड कारहरुको ब्याट्रीमा समस्या आएपछि फिर्ता बोलाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।