लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स सञ्चालनमा आयो, बीमाको पहुँच जनतामा पुर्याउने प्रतिबद्धता

0
Shares

लघु जीवन बीमा कम्पनी– लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स शुक्रबार देखि सञ्चालनमा आएको छ ।

नेपाल बीमा प्राधिकरणबाट असोज १९ गते व्यवसाय संचालन स्विकृति प्राप्त गरेको कम्पनीको शुभारम्भ पोखरामा भएको छ । शुक्रबार नेपाल बीमा प्राधीकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले विधिवत रुपमा कम्पनीको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष सिलवालले लघु जीवन बीमाको बिस्तारले समाजका सबै वर्ग विशेषतः विपन्न तथा गरीब वर्गका व्यक्तिहरुलाई जीवन बीमाको दायरामा ल्याउन सघाउने बताए । कम्पनीले दुर्गम जिल्ला तथा विपन्न वर्गहरुमा पुगी आफ्नो सेवा पुर्याई जीवन बीमा दावी पर्दा तत्कालै बीमा दावी दिई बीमाको गरिमा बढाउने सिलवालको विश्वास रहेको छ ।

त्यसै गरी नेपाल बीमा प्राधीकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले मोबाइल एप्लिकेशनको प्रयोग गरी कम्पनीको डिजिटल बीमालेख जारी गरी लघु जीवन बीमाको विकासमा लघु जीवन बीमा कम्पनीहरुले राम्रो भूमिका खेल्नुपर्ने तथा घुम्ति बीमा माध्यमको प्रयोग गरी सबै वर्गमाझ बीमाको सेवा सुविधा पुर्याउनुपर्ने कुरामा जोड दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले कम्पनीको वित्तीय अवस्थाका बारेमा जानकारी दिए । कम्पनीको अधिकृत पूजी १ अर्ब, कम्पनीका प्रोमोटरहरुबाट ५२ करोड ५० लाख तथा कम्पनीले भविष्यमा निष्काशन गर्ने आइपीओ मार्फत २२ करोड ५० लाख गरी जम्मा ७५ करोड जारी पूजी रहेको छ ।

हाल कम्पनीले २ वटा बीमा योजना समृद्ध कवच म्यादी जीवन बीमा योजना तथा समृद्ध भविष्य सावधिक जीवन बीमा योजना ल्याएको छ । साथै कम्पनीले आफ्नो बीमाको पहुच बढाउन नयां अभिकर्ता उत्पादन तथा देशको विभिन्न ठाउंँमा आफ्नो प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा उप–शाखा कार्यालय खोली लघु जीवन बीमाको सेवा दिने बताए ।

कम्पनीका अध्यक्ष निकोलस पाण्डेले बीमाको पहुँच आम जनतामा पुर्याउने प्रतिबद्धता, बीमालाई नाफा कमाउने उद्देश्यमा सिमित नभई सामाजिक उद्यमशीलतामा जोड दिदैं नेपाल बीमा प्राधीकरणले निर्देश गरेको नियम कानूनको अधीनमा रहने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।