एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा प्रगति देखिएको छः प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन । मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई आज बिराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

प्रधानमन्त्रीले भने, ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो ।’

उनले एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको उल्लेख गर्दै महंगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको बताए।

उनले भने, ‘एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ ।’ प्रधानमन्त्रीले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो ।’

१. नेपालको पहिलो औद्योगिक नगरी विराटनगरमा आयोजित यो ऐतिहासिक व्यापार मेलामा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी आफ्ना विचारहरु र नेपाल सरकारको धारणा राख्ने अवसर प्राप्त गर्नुभएकोमा आयोजकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै मोरब व्यापार मेला एक्स्पो २०२३ को भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२. निजी क्षेत्रको प्रतिनिधि संस्था मोरब व्यापार संघले विगतका वर्षहरुमा समेत राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका मेला, महोत्सवको आयोजना गरी यस क्षेत्रको उत्पादनमा प्रोत्साहन, व्यापार प्रवद्र्धन एवं अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । देशको अर्थतन्त्र चलायमान गराउन प्रदेशका कृषिजन्य वस्तु, स्वदेशी उत्पादन र सेवाहरु लगायतका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार बिस्तारका साथै प्रदेशका पर्यटकीय एवं धार्मिक गन्तव्यहरुको प्रचारप्रसार लगायतका कैयांै प्रवर्धनात्मक कार्यहरुका निम्ति यो मेलाको आयोजना गरिएको मैले जानकारी पाएको छु । यसका निम्ति आयोजकहरुमा धन्यवाद व्यक्त गर्दछु ।

३. सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो । एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको छ । तपाईहरुले आयोजना गर्नुभएको एक्स्पोले पनि अर्थतन्त्रलाई चलायमान गरी आर्थिक गतिविधिहरुलाई तीव्रता दिई आम नागरिकमा देखिएको निरासा सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्नेछ ।

४. एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ । भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको छ । निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको छ । यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो ।

५. चालु आर्थिक वर्षमा प्रतिमहिना औसत एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ । पछिल्लो चार महिनामा चार खर्ब ७७ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । रेमिटेन्समा निर्भरता अर्थतन्त्रको दीर्घकालीन समाधान त होइन, तर तत्कालको संकट निवारणका दृष्टिले यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहन्छ । चालु आर्थिक वर्ष २०८०।८१ को चार महिनामा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । यो अर्थतन्त्रको सुधारमा महत्वपूर्ण सूचक हो ।

६. यस अवधिमा एकातर्फ बैंकको ब्याजदर घटाइएको छ भने अर्कोतर्फ बैंकहरुको कर्जा लगानी पनि क्रमशः बढ्दै गएको छ । कर्जाको औसत ब्याजदर १४ महिनापछि १२ प्रतिशतमुनि आएको छ । विगतमा यस्तो ब्याजदर अधिकतम १३.०३ प्रतिशतसम्म पुगेको थियो । कात्तिकमा कर्जाको औसत ब्याजदर ११.९६ प्रतिशत छ । राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार नीतिगत ब्याजदर घटाएको छ । राष्ट्र बैंकले बैंकदरका रुपमा समेत रहेको स्थायी तरलता सुविधाको दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको छ । यो आफैमा महत्वपूर्ण सुधार हो । अर्थतन्त्रमा यसको प्रभाव क्रमशः देखिँदै जानेछ ।

७. पर्यटक आगमनमा यस वर्ष इतिहासकै नयाँ रेकर्ड कायम भएको छ । सन् २०२२ भरिमा आएका पर्यटकभन्दा सन् २०२३ को नोभेम्बरसम्म पर्यटक आगमन ४९ प्रतिशतले बढेर ९ लाख १८ हजार पुगेको छ । यी र यस्ता सूचकहरुले हाम्रो अर्थतन्त्रमा आएको सकारात्मक सुधारलाई प्रष्ट गर्दछन् ।

८. अर्थतन्त्रका सूचकहरुमा महत्वपूर्ण सुधार आइरहेको भए पनि आम नागरिक र व्यवसायीहरुको मनोविज्ञान सकारात्मक बनाउने चुनौती हाम्रासामु छ । “केही छैन, केही हुँदैन, केही सकिँदैन” भन्ने मनोविज्ञानबाट माथि उठेर “देश क्रमशः प्रगतिको बाटोमा छ, देशभित्रै केही गर्न सकिन्छ, हामीले केही गर्नैपर्दछ” भन्ने भाष्य निर्माण यतिबेला हाम्रो चुनौती र कार्यभार दुबै हुन आएको छ । यसका लागि तपाई व्यवसायीहरु र आम जनसमुदायले समेत सकारात्मक योगदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

९. यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा शुभारम्भ गरिएको विराटनगर–कटहरी–जोगवनी कार्गो रेल सञ्चालनका बारेमा तपाईहरुले राख्नुभएको चासोप्रति म जानकार छु । यसलाई सम्बोधन गर्न सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढाइने विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । यसका साथै अन्य नाकाहरुको सञ्चालनबारे पनि सरकारले गम्भीर रुपमा पहल लिनेछ ।

१०. खोटाबको हलेसी महादेव, ताप्लेजुबको पाथीभरादेवी मन्दिर, सुनसरीको बराह क्षेत्र, रामधुनीलगायतका धार्मिक तीर्थाटनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन, सगरमाथामा कोशी प्रदेशको अपनत्व स्थापित गरेर यस क्षेत्रको विकासमा गुणात्मकता दिन सकिन्छ । यसका लागिसमेत सरकारको तर्फबाट पहल भइरहेको जानकारी गराउँछु ।

११. संविधान र नागरिकता ऐनले आमाको नामबाट नागरिकता दिने प्रबन्ध गरे पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता बितरणमा सहजीकरण नगरेको भन्ने गुनासोहरु पनि छन्, ती गुनासोहरु यथोचित रुपमा सम्बोधन गरिनेछ । त्यसका साथै विराटनगरलाई विशेष आर्थिक क्षेत्र बनाउने, मुआब्जाको समस्या समाधान गरी चक्रपथ निर्माणलाई गति दिनुपर्ने, विराटनगर जुट मिल लगायतका औद्योगिक प्रतिष्ठानहरुको सम्पत्ति संरक्षण गर्ने, राजस्व छलि र चुहावटलाई नियन्त्रण गर्ने र नदी नियन्त्रणका बारेमा तपाईहरुले जे–जति विषय उठाउनुभएको छ, मैले त्यसको सम्बोधनका लागि आवश्यक पहल लिने पनि विश्वास दिलाउँछु ।

१२. विश्वको सर्वोच्च शिखर सगरमाथा तपाईहरुकै प्रदेशमा पर्दछ । तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण देखिएको बहुआयमिक संकटको नकारात्मक प्रभाव त्यस क्षेत्रमा समेत गहिरो गरी देखिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव आफै सगरमाथा क्षेत्रको भ्रमण गरी जलवायु परिवर्तनका असरहरुको प्रत्यक्ष अवलोकन गर्नुभएको छ । अघिल्लो महिना सम्पन्न विश्व जलवायु सम्मेलन (कोप २८) मा पनि मैले यसबारे गम्भीर रुपले नेपालको धारणा राखेको छु । यसले जलवायु परिवर्तनका कारण देखिएका संकट निवारणका निम्ति, नेपालले प्राप्त गर्नुपर्ने क्षतिपूर्तिका निम्ति र नेपालको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धमा निम्तिसमेत महत्वपूर्ण आधार प्रदान गरेको छ ।

१३. तपाईहरुलाई जानकारी नै छ– केही दिनअघि बसेको मन्त्रिपरिषदको बैठकले विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गरिसकेको छ । यसलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न तथा निर्माण प्रक्रिया अगाडि बढाउन सरकार गम्भीर छ।

१४. मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको एक वर्षको अवधि पूरा हुँदैछ । एक वर्षको अवधिमा महत्वपूर्ण उपलब्धीहरु प्राप्त भएका छन् । तर, देशमा विद्यमान चुनौतीको सम्बोधनका दृष्टिले ती पर्याप्त छैनन् । आगामी दिनमा थप सक्रियताका साथ योजनावद्ध परिणाम दिने गरी मैले काम गर्ने तयारी गरिरहेको व्यहोरासमेत तपाईहरुलाई अवगत गराउँछु । सरकारको यो सकारात्मक र इमानदार प्रयासमा सधैझैं तपाईहरुको साथ, सहयोग र ऐक्यवद्धता रहनेमा म पूर्ण विश्वस्त छु ।

१५. अन्त्यमा, तपाईहरुको यो व्यापार मेला पूर्वी नेपालका साथै सिंगो देशको अथर्तन्त्रमा गति ल्याउन, स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरण गर्न तथा आम जनताको आर्थिक जीवनमा सकारात्मक योगदान दिन सक्षम हुने विश्वासका साथ फेरि एकपटक मोरङ व्यापार मेला एक्स्पो २०२३ को सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

(मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को सम्बोधन)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।