सेयर बजारमा करेक्शन जारी, पन्ध्र कम्पनीको सेयर मूल्यमा सर्किट

0
Shares

सेयर बजारमा आइतबार पनि दोहोरो अंकको करेक्शन देखिएको छ । बिहीबार ३२.७७ अंकले ओरालो लागेको नेप्से आइतबार पनि २१ अंक बढीले घटेको हो । यसअघि लगातार ७ कारोबार दिनसम्ममा गरी नेप्से १९३.३० अंकले बढेको थियो । कारोबारको सूरुवातिमा साढे दुई घण्टा अवधिमा नेप्सेमा हरियाली छाएको भएपनि १:५० बजेपछि बजार निरन्तर ओरालो लागेको हो । आज कारोबार भएका ३०९ कम्पनीहरुमध्ये १०४ कम्पनीको सेयर मूल्य बढेको १९३ कम्पनी कम्पनीको घटेको छ । यस्तै १२ कम्पनीको मूल्य स्थीर छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ओरालो लागेपनि कारोबारको भने बलियो साथ देखिएको छ । गत बुधबार एक वर्षपछि दैनिक कारोबार रकम ७ अर्ब बढी नाघेकोमा आइतबार पनि ७ अर्ब ११ करोड माथिको सेयर किनबेच भएको छ । यसदिन सूचीकृत ३०९ स्क्रिप्टको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर १ लाख २८ हजार ३५६ पटक खरिद बिक्री हुँदा दैनिक कारोबार रकम ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँमा समेटिएको छ । बिहीबार ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८ दशमलव ०७ को बिन्दुमा कायम भएको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.३३ प्रतिशतले ओरालो लागेर ३९१.३३ बिन्दुमा कायम भएको छ । यस दिन १३ उपसमूहगत सूचकमध्ये चार वटा परिसूचक बढेको छ भने ९ वटा घटेको छ । अन्य, निर्जीवन बीमा, जीवन बीमा र जलविद्युत उपसमूहगत सूचक बढेको छ। कारोबारमा आएको लगानी उपसमूहगत सूचक सर्वाधिक ३.८९ प्रतिशत घटेको छ । यस्तै उत्पादन तथा प्रशोधनमुलक २.७५ प्रतिशत, बैंकिङ्ग, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटनमुलक र लघुवित्त १ प्रतिशतभन्दा अधिक घटेका छन् ।

घटेको बजारमा १३ कम्पनीको सेयर मूल्यमा सकारात्मक र २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसदिन बोटलर्स नेपाल, कालिका पावर, सामलिङ्ग पावर, बिपिडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, माईखोला हाइड्रोपावर, मैलुङ्ग खोला हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । उता आज ज्योति विकास बण्ड २०८७ र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य नकारात्मक सर्किट लागेर घटेको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनी ९.८५ प्रतिशत, आँखुखोला जलविद्युत ९.१७ र हिमालयन डिष्टिलरीको ६.८७ प्रतिशतले सेयर मुलय घटेको छ ।

आजको बजारमा शिवम सिमेन्टसको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । सिमेन्ट कम्पनीको ३० करोड ४३ लाख २८ हजार रुपैयाँ बराबरका ५ लाख १९ हजार २७६ कित्ता सेयर खरिद बिक्री भएको छ ।  यसैगरी अन्य तीन कम्पनीहरु हाथवे इन्भेष्टमेन्ट कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल, घोराहरी सिमेन्टसको पनि २० करोडमाथिको सेयर कारोबार भएको छ । हाथवेको २९ करोड ५० लाख, सोनापुर मिनरल्सको २८ करोड १९ लाख र घोराहरी सिमेन्टसको २२ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै आइएमई लाइफ इन्स्योरेन्सको १९ करोड ३ लाख, नेपाल इन्स्योरेन्स १८ करोड २ लाख रिलायबल नेपाल लाइफको १६ करोड ९३ लाख, हिमालयन डिष्टीलरीको १५ करोड ३४ लाख, नेपाल टेलिकमको १३ करोड २० लाख, सोल्टी होटलको १२ करोड ५७ लाख र नेपाल रिपब्लिक मिडियाको ११ करोड ३२ लाख मूल्यको सेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नागरिक लगानी कोष, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र हिमाल दोलखा हाइड्रोपावरको १० करोड माथिको सेयर खरिद बिक्री भएको छ ।

आइतबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३२ खर्ब ४३ अर्ब ६६ करोड ६४ लाख १६ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन बिहीबार बजार पुँजीकरण ३२ खर्ब ६५ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ थियो । आइतबार मात्रै बजार पुँजीकरण २२ अर्ब ८ करोड ७८ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।