नेप्सेको लाभांश घट्यो, पुस २९ गते एजीएम आह्वान

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को लाभांश घटेको छ । यो वर्ष नेप्सेले चुक्ता पुँजीको ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८–७९ बाट चुक्ता पुँजी एक अर्बको शतप्रतिशत नगद लाभांश वितरण गरेको नेप्सेको लाभांश ३६ प्रतिशत बिन्दुले घटेको हो । यसअनुसार नेप्सेले गत आवबाट ६४ करोड रुपैयाँ बराबरको मात्र नगद लाभांश वितरण गर्नेछ ।

लभांश सहितका अन्य प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते आइतबार आफ्नै कार्यालयमा बिहान ११ बजे ४२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सञ्चालक समितिको पुस ६ गते शुक्रबारको बैठकले उक्त मितिमा सभा डाकेको हो ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभाले नेप्सेको पूर्णस्वामित्व रहेको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वित्त्तीय विवरणसहितको प्रतिवेदन स्वीकृत गर्ने छ।

नेप्सेमा नेपाल सरकारको सबैभन्दा ५८.६६ प्रतिशत लगानी छ भने नेपाल राष्ट्र बैंकको १४.६० र कर्मचारी सञ्चय कोषको १० प्रतिशत लगानी छ । यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, राष्ट्र बैंकले विनिमेश गरेको सेयर खरिद गरेका लक्ष्मी र प्रभु बैंकको समान ५–५ प्रतिशत र सेयर ब्रोकर कम्पनीहरुको ०.६० प्रतिशत लगानी छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।